हदबन्दीमा परेको मन्दिरका लागि छाेडिएकाे जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन मालपोत अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हदबन्दीमा परेको रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायतको ९ (ख) ७, २९, ३२, ६७, ६८, ९२ र ९४ कित्ताका जग्गा छुट जग्गा भनी व्यक्तिविशेषको नाममा दर्ता गराएको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले तत्कालीन मालपोत अधिकृत कुमार आचार्य, नासुहरू लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई प्रतिवादी कायम गरेको छ।
भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा पहिले स्थानीय सुर्जा मिश्राइनले हदबन्दीमा परेको कारण कालीजी मन्दिरलाई दान गरेका थिए। प्रतिवादीहरूले उक्त जग्गा पर्वतराजकान्त मिश्रका नाममा दर्ता गराउने र त्यसपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा नागरिक उड्डयन प्राधिकरणका नाममा नामासारी गरी मुआब्जा रकम लिनेदिने गरी रुपन्देही जिल्ला अदालतमा दूषित मिलापत्र गरेका थिए।
उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले ‘कानुनबमोजिम जो–जे बुझ्नुपर्ने बुझी निर्णय गर्नू’ भनी दिएको परमादेशको समेत गलत अर्थ लगाई भूमिसुधार र स्थानीय तहलाई बेवास्ता गरी उक्त जग्गा व्यक्तिका नाममा गराइएको अख्तियारको ठहर छ।
हदबन्दी लागेर सार्वजनिक भइसकेको जग्गा पछि जुनसुकै व्यहोराले (अपुताली, नाता वा मिलापत्र) दर्ता गराए पनि कानुनतः प्रारम्भदेखि नै बदरभागी हुने कानुनी व्यवस्थाविपरीत कार्य गरेको आरोपपत्रमा उल्लेख छ।