मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १३ शनिबार
  • Monday, 31 August, 2026
भोटेकोशीमा आएको भीषण बाढीसँगै रसुवाको टिमुरे–रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन भएका ४६ वर्षीय नारायण पन्थी (रातो घेरामा)
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ १३ शनिबार १८:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले सम्पर्कविहीन छोराको बाटो हेर्दै नारायणका ८० वर्षीय बुवा र ८२ वर्षीया आमा, अस्ट्रेलियामा पत्नी र छोरीहरू तनावमा

अस्ट्रेलियामा बस्दै आएका पन्थी बुबाआमासहित परिवारका सदस्यसँग भेटघाट गर्न केही समयको लागि नेपाल आएका थिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ १३ शनिबार १८:१६:oo

भोटेकोशीमा आएको भयावह बाढीसँगै रसुवाको टिमुरे–रसुवागढी क्षेत्रबाट सम्पर्कविहीन भएका ४६ वर्षीय नारायण पन्थीको अवस्था चार दिन बितिसक्दा पनि अज्ञात छ ।

बाढी आएको दिनदेखि छोराको कुनै खबर नआएपछि ८० वर्षीय बुवा र ८२ वर्षीया आमा चिन्ताले निशब्द छन् । अस्ट्रेलियामा रहेका उनकी पत्नी र १५ तथा १२ वर्षीया दुई छोरी पनि बुबाको खबरको प्रतीक्षामा छन् ।

नारायण बाढी आउनुअघि कैलाश मानसरोवर यात्राका लागि निस्किएका थिए । अस्ट्रेलियामा बस्दै आएका उनी बुबाआमासहित परिवारका सदस्यसँग भेटघाट गर्न केही समयको लागि नेपाल आएका थिए । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बुबाआमासँग केही दिन बिताएपछि उनी मंगलबार कैलाश मानसरोवर यात्राका लागि निस्किएका थिए । तर, रसुवाको टिमुरे–रसुवागढी क्षेत्रमा पुगेपछि आएको बाढीसँगै उनी परिवारको सम्पर्कबाट बाहिरिए ।

बाढी आउनुअघि बुधबार बिहान उनले टिमुरेबाट फेसबुक लाइभसमेत गरेका थिए । फेसबुक लाइभमा उनले आफूहरू कैलाश मानसरोवर यात्राका लागि जान लागेको बताएका थिए । त्यसपछि भने परिवारले नारायणसँग सम्पर्क गर्न सकेको छैन।

नारायण सम्पर्कविहीन भएको खबरसँगै परिवारमा केही दिनअघिको खुसी एकाएक चिन्तामा बदलिएको छ । छोरालाई भेट्ने र केही दिन सँगै बिताउने आशामा रहेका वृद्ध आमाबुबा अहिले उनको सकुशल अवस्थाको खबरको प्रतीक्षामा छन् ।

नारायणको अवस्था पत्ता लगाउन उनका दाजु माधव र भाइ श्रीधर काठमाडौं हुँदै चितवनसम्म दौडधूप गरिरहेका छन् । बाढी प्रभावित क्षेत्रबाट आउने हरेक सूचनामा उनीहरूको ध्यान छ । कतै नारायण भेटिएको खबर आउँछ कि भन्ने आशामा उनीहरू सम्भावित स्थानमा खोजी र सम्पर्कको प्रयास गरिरहेका छन् ।

एकातिर अस्ट्रेलियामा रहेका पत्नी र छोरीहरू बुबाको खबर कुरिरहेका छन् । अर्कोतिर अर्घाखाँचीमा रहेका वृद्ध आमाबुबा छोराको सकुशल फर्किने आशामा छन् । तर, चार दिन बितिसक्दा पनि नारायण कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने यकिन खबर परिवारले पाउन सकेको छैन ।

दाजु माधवले नारायणको अज्ञात अवस्थाले परिवारको पीडा झन् बढाएको बताए । भाइ श्रीधरले पनि हरेक घडी भारी बनेको बताए । ‘कतैबाट खबर आइहाल्छ कि भन्ने आशामा बाटो हेरिरहेका छौँ,’ माधवले भने ।