चालू शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पठनपाठनको तयारी गरिरहेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम प्रदेश सरकारमातहतका चारवटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न पाउने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयबिच सेती, महाकाली र लम्कीचुहा प्रादेशिक अस्पताल तथा टीकापुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ ।
चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न निर्धारित मापदण्ड पूरा गर्न प्रदेशका अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सहमति गरिएको हो । चिकित्सा शिक्षाको पढाइ सुरु गर्न तीन सय शङ्ढयाको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्ने मापदण्ड छ । सहमतिसँगै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने आधार तयार भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्द र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा. नीरज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रजिस्ट्रार चन्दले यसै वर्षबाट एमबिबिएसलगायत शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताए । त्यसका लागि केही शैक्षिक जनशक्ति नियुक्त भइसकेको र केही नियुक्तिको क्रममा रहेको उनले जानकारी दिए । प्रशासनिक जनशक्ति व्यवस्थापनको काम पनि अगाडि बढेको चन्दको भनाइ छ ।
गेटामा यसै शैक्षिक सत्रबाट १२० जना विद्यार्थीका लागि एमबिबिएस, बिएससी नर्सिङ, बी अप्टोमेट्री र बिएससी एमएलटीको पठनपाठन सुरु गर्ने तयारी छ । एमबिबिएसमा ५०, बिएससी नर्सिङमा ३० जना तथा अन्य विधामा २०–२० विद्यार्थी भर्ना गरिनेछ । आगामी माघ अन्तिमतिर पठनपाठन सुरु हुने विश्वविद्यालयले जनाएको छ । शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिनुअघि चिकित्सा शिक्षा आयोगको टोली यसै महिना विश्वविद्यालयको अनुगमनमा आउँदै छ ।
विश्वविद्यालय र मन्त्रालयबिचको सहमतिअनुसार यी चार अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रूपमा मान्यता दिनुका साथै योग्यता पुगेका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शिक्षकको पदनाम दिनेछ । विश्वविद्यालयले शैक्षिक गतिविधि सञ्चालन तथा गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गर्नेछ ।
सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. चेतराज जोशीले अस्पतालमा विद्यार्थी पोस्टिङ भएर आउँदा थपिने उपकरण, प्रयोगात्मक औजार, पूर्वाधार व्यवस्थापन आदिमा पर्ने आर्थिक भार विश्वविद्यालयले व्यहोर्ने सहमति रहेको जानकारी दिए । उनका अनुसार अस्पतालले विद्यार्थीलाई ओपिडी, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आइसियूलगायत सबै विभागमा क्लिनिकल अभ्यासको अवसर उपलब्ध गराउनेछन् ।
प्रदेश मन्त्रिपरिषद् बैठकले चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने गरी विश्वविद्यालयसँग सहमति गर्न मन्त्रालयलाई अनुमति दिने निर्णय हालै गरेको थियो । सेती, महाकाली र लम्कीचुहा प्रादेशिक अस्पतालमा ५०–५० शङ्ढया तथा टीकापुर अस्पताल ५१ शङ्ढयाको स्वीकृत दरबन्दी छ । अस्पताल विकास समितिबाट सेतीले थप ७५ शङ्ढया र महाकालीले ५० शङ्ढया सञ्चालन गरिरहेको छ ।