अस्पताल लेखेको भ्यानमा राखेर तस्करी गर्न लागेको गाँजा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका– १६, दरैयास्थित कोलर चोकबाट दिव्यज्योति अस्पतालको भ्यानमा राखेर भारततर्फ तस्करी गर्न लागेकोे करिब ६० किलो गाँजा सशस्त्र प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका अनुसार बोर्डर आउट पोस्ट दरैयाबाट खटिएको टोलीले मंगलबार राति करिब ११ बजे ‘दिव्यज्योति अस्पताल प्रालि’ लेखिएको को.१च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर जाँच गर्दा बोरामा लोड गरिएको ६० केजी गाँजा फेला परेको थियो । प्रहरीले गाँजा फेला पारे पनि भ्यानचालक गाडी छाडेर फरार भएका थिए। बरामद गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी रानीमा बुझाउने तयारी भइरहेको छ।
सशस्त्र प्रहरी मोरङको टोलीले साउनदेखि भदौ पहिलो सातासम्म मोरङका विभिन्न सीमा क्षेत्रबाट ८५ लाख ६२ हजार ४८५ रुपैयाँबराबरका भन्सार छलीका सामान बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। यही अवधिमा लागुऔषधतर्फ आठजना मानिससहित ८२० मिलिग्राम खैरो हेरोइन, १८ हजार ६० ट्याब्लेट ट्रामाडोल र ६ हजार ट्याब्लेट डाइसाइक्लोमिन एचसिएल बरामद गरेको छ।
लागुऔषध गाँजा र मेडिकल ड्रग्स अनि भन्सार छली गरेका सामानहरू ओसारपसारका लागि मोरङमा एम्बुलेन्स,अस्पताल र विभिन्न संघसंस्थादेखि मालवाहक र निजी विभिन्न सवारीसाधनहरू व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।