मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका ​​​​​​​काठमाडौं
२o८३ भदौ १२ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नुवाकोटका १३५ र धादिङका ११३ जना सम्पर्कविहीन, रसुवामा संख्या यकिन हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ​​​​​​​काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १२:३३:oo

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित जिल्लामा हराइरहेका व्यक्तिको खोजी तथा विवरण संकलन जारी छ। हालसम्म नुवाकोटका १३५ र धादिङका ११३ जना सम्पर्कविहीन रहेको जानकारी उनीहरूका आफन्तले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गराएका छन्।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा पुगेका वा कार्यरत १३५ जना सम्पर्कविहीन रहेको भन्दै आफन्तले निवेदन दिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले प्राप्त विवरणका आधारमा सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी उनीहरूको खोजी भइरहेको बताए।

उनका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध रहेकाले केही व्यक्ति सुरक्षित भए पनि आफन्तको सम्पर्कमा आउन नसकेको हुन सक्ने अवस्था छ।

यस्तै, धादिङका ११३ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको जानकारी आफन्तबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। उनीहरू बाढी प्रभावित क्षेत्रमा सवारीसाधन सञ्चालन, व्यापार–व्यवसाय, रोजगारी तथा अन्य कामका सिलसिलामा पुगेका थिए। उनीहरूको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी खोजी तीव्र पारिएको प्रशासनले जनाएको छ।

सबैभन्दा बढी प्रभावित रसुवामा भने हराइरहेका व्यक्तिको यकिन संख्या अझै संकलन हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीले कतिपय गाउँ नै बगाएको, प्रभावित परिवार विस्थापित भएको, सञ्चार सेवा अवरुद्ध रहेको तथा धेरै स्थानमा पुग्न कठिन भएकाले हराएकाको यकिन तथ्यांक संकलनमा समस्या भइरहेको छ।

उनले जिल्लाको सम्पूर्ण प्रशासनिक संयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह र स्वयंसेवकहरू खोजी, उद्धार तथा राहतमा परिचालित रहेको बताए।

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार रसुवाका विभिन्न स्थानबाट शुक्रबार मात्रै ५७० जनाको जीवितै उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ।