पुराना म्याद गुज्रेका असुरक्षित सिलिन्डरमा र कम तौल राखेर ग्यास भरेर बिक्री गर्ने गरेको पाइएको भन्दै जिल्ला प्रशासन मोरङले रिजालको भान्सा ग्यास उद्योगलाई दुई लाख ९५ हजार जरिवाना गरेको छ । जिल्ला प्रशासन मोरङको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले २७ साउनमा अनुगमन गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका– ५ मा रहेको रिजालको भान्सा ग्यास उद्योगमा ग्यास भरेर सिलबन्दी गरिएका सिलिन्डरमा कम तौल र म्याद गुज्रेका पुराना सिलिन्डरमा पनि ग्यास भरिएको फेला पारेपछि दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
जिल्ला प्रशासन मोरङका अनुसार अनुमगनका क्रममा उद्योगपरिसरमा रहेका १९ वटा भरिएका सिलिन्डरहरू तौल जाँच गर्दा एउटा सिलिन्डरमा दुई सय ४० ग्राम कम ग्यास पाइएको थियो । यसैगरी केही पुराना म्याद गुज्रिएर असुरक्षित बनेका सिलिन्डरहरूमा पनि ग्यास भरेर बजारमा पठाउन ठिक्क पारिएको थियो । त्यसैले म्याद गुज्रिएका सिलिन्डर ग्यास खाली गर्न लगाएर नष्ट गराइएको थियो । यसैगरी अनुगमनमा असहयोग गर्ने विराटनगर महानगरपालिका– ३ स्थित कन्चनेश्वर ग्यास पसललाई पनि प्रशासनले १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
मोरङ प्रशासनले २५ साउनमा बुढीगंगा गाउँपालिका– ४, निमुवामा रहेको कोशी ग्यास उद्योगले सिलिन्डरमा कम तौल राखेको फेला परेपछि दुई लाख ९० हजार रुपैयाँ जरिवाना गरेको थियो। साथै अनुगमनका क्रममा असहयोग गर्ने विराटनगर महानगरपालिका– ७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरेको थियो ।