बर्दियामा एकै रात दुईवटा सामुदायिक विद्यालयमा चोरी तथा तोडफोड भएको छ। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा रहेका दुई छुट्टाछुट्टै विद्यालयमा चोरी भएको हो।
गए राति गेरुवा गाउँपालिका– ३, बनकट्टीमा रहेको सरस्वती आधारभूत विद्यालयबाट चारवटा ल्यापटप, दुईवटा प्रोजेक्टर, सिसी क्यामराको सेटअप बक्सलगायत विभिन्न विद्युतीय सामग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक लक्षिमनबहादुर सिंहले जानकारी दिए। उनले भने, ‘चोरले विद्यालयमा चोरी गर्नुका साथै विद्यालयमा रहेका दराजसमेत तोडफोड गरेर विद्यालयका महत्त्वपूर्ण सामग्री चोरी गरेका छन्।’
त्यसैगरी राजापुर नगरपालिका– ३ टेडियामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा राति करिब १ बजे विद्यालयबाट ल्यापटप र मल्टिप्लग चोरी भएको प्रधानाध्यापक राजकुमार बस्नेतले बताए। उनले भने, ‘विद्यालयमा रहेको टिभीलगायत अन्य सामग्री तोडफोड भएको छ।’