बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशन आगामी असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष वसन्तप्रसाद ढकालले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८३/८४ का लागि आय–व्यय स्वीकृत भएको छ। संघका कोषाध्यक्ष ढकाल संयोजक रहेको बजेट तर्जुमा समितिले निर्माण गरेको आय–व्यय बैठकमा प्रस्तुत गरिएको थियो।
त्यसैगरी, संघले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डिजिएम परियोजना सञ्चालनका लागि सहपरियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त सहपरियोजना व्यवस्थापन समितिमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, मलमला सामुदायिक वन उपभोक्ता समिति सैनामैनाका अध्यक्ष तुलसी पोखरेल, प्रगति सामुदायिक वन उपभोक्ता समिति देवदहका अध्यक्ष दुर्गाबहादुर राना, संघकी सहकोषाध्यक्ष धनकुमारी खनाल, कार्यसमिति सदस्य रेनु श्रेष्ठ, सुनिता शर्मा बञ्जाडे, विष्णु घिमिरे पन्त, कार्यकारी निर्देशक मदनकुमार कार्की र वरिष्ठ अधिकृत दोलबहादुर कुँवर रहेका छन् ।
त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन उपसमिति, उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईको नेतृत्वमा उत्पादन उपसमिति, महासचिव मुक्तिप्रसाद अधिकारीको नेतृत्वमा खरिद उपसमिति तथा कोषाध्यक्ष वसन्तप्रसाद ढकालको नेतृत्वमा लेखा उपसमिति गठन गरिएको छ ।
बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले संघले उद्योगी–व्यवसायीको हकहित तथा व्यावसायिक प्रवर्द्धन र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले गरेको योगदान स्मरणीय रहेको बताउँदै यस क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रवर्द्धनका कार्यक्रम ल्याउन सुझाव दिए ।