मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १९ बिहीबार १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा, मधेशका पत्रकार संगठनहरूको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार १३:o१:oo

मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी हुनुअघि राजधानी काठमाडौंमा आयोजना गरिएको छलफल कार्यक्रमप्रति मधेशका पत्रकार संगठनहरूले आपत्ति जनाएका छन् ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले उक्त छलफल कार्यक्रम काठमाडौं कोटेश्वरस्थित एक होटेलमा राखिएको जानकारी आफ्नो व्यक्तिगत ह्वाट्सअप समूहमार्फत मात्र सार्वजनिक गरेका थिए । तर, यस महत्त्वपूर्ण प्रक्रियामा प्रदेशका सरोकारवाला निकायलाई बेवास्ता गरिएको भन्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश र प्रेस चौतारी नेपाल, मधेश प्रदेश, नेपाल प्रेस युनियन मधेश प्रदेश र प्रेस सेन्टर नेपाल मधेशले छुटाछुटै विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति प्रकट गरेका हुन् ।

पत्रकार संगठनहरूले सञ्चार ऐन संशोधन प्रक्रियामा प्रत्यक्ष सरोकार राख्ने महासंघ, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडिया तथा तिनका संगठनहरूलाई औपचारिक जानकारी नगराई राजधानीमै छलफल कार्यक्रम राखिनु नियतगत रूपमा शंकास्पद देखिएको बताएका छन् ।

संगठनहरूले मधेशमै सम्पन्न हुनुपर्ने छलफललाई प्रदेशबाहिर राख्नु प्रदेश सरकारको बजेट दुरुपयोगसरह भएको आरोप लगाएका छन । मधेशका पत्रकारलाई पाखा लगाएर राजधानीमा छलफल गर्नु औचित्यहीन मात्र होइन, प्रदेशको अपमान पनि हो, विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच प्रेस चौतारी नेपाल, मधेश प्रदेशका अध्यक्ष लालबाबु शेखले भने, ‘सञ्चार ऐन संशोधन प्रक्रियामा सरोकारवाला पत्रकार महासंघ र संगठनलाई बेवास्ता गरेर काठमाडौंबाट निर्णय गर्ने शैली स्वीकार्य छैन । मधेशमै छलफल गरेर निष्कर्ष निकालिनुपर्छ, नत्र हामी प्रतिकारमा उत्रिन बाध्य हुनेछौँ ।’

संविधान २०७२ र सञ्चार पत्रकारितासम्बन्धी प्रचलित कानुनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन कदम अस्वीकार्य हुने भन्दै संगठनहरूले प्रदेश सरकारलाई सचेत गराएका छन । उनीहरूले सरोकारवालाको सहभागिता र सहमतिविना ल्याइने कुनै पनि संशोधन प्रस्तावलाई मान्य नगर्ने चेतावनी पनि दिएका छन् ।

छुटाउनुभयो की ?