मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
तिवारी यादव वीरगन्ज
२o८२ भदौ १८ बुधबार o६:३८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खानेपानीमन्त्री प्रदीप यादवसँग प्रश्न गर्ने किरणविरुद्ध राज्यको ज्यादती : आफैँले थुनाएकी युवतीविरुद्ध मन्त्रीले पार्टीसमेत परिचालन गरे

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार o६:३८:oo

हैजाले वीरगन्ज आक्रान्त बनेका वेला परिवारका बिरामी सदस्य कुरेर अस्पतालमा रहेकै समयमा फोन गरेर खानेपानीमन्त्री प्रदीप यादवको पदीय जिम्मेवारीप्रति प्रश्न उठाएकी वीरगन्जकी युवती किरण साहमाथि सत्ता र शक्तिको दुरुपयोग जारी छ । उनीविरुद्ध आफ्नो सचिवालयमार्फत उजुरी दिन लगाएर प्रहरी हिरासतमा पुर्‍याएका मन्त्री यादवले मंगलबार उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयअगाडि कार्यकर्ता उतारेर प्रदर्शन नै गरेका छन् । यति मात्रै होइन, पार्टीका कार्यकर्ता ओसार्न सरकारी गाडीको दुरुपयोगसमेत गरेका छन् ।

मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा)का महिला नेतृत्व तथा आफूमातहतको निकाय खानेपानी संस्थानका पदाधिकारीलाई प्रदर्शनमा उतारेका थिए । प्रदर्शनको नेतृत्व खानेपानी संस्थान सञ्चालक समिति सदस्यद्वय मधुमाया (यादव) र सल्मा खातुनले गरेका थिए । उनीहरू जसपाका केन्द्रीय सदस्य हुन् । उनीहरूलाई मन्त्री यादवले नै गत जेठमा तीन वर्षका लागि सञ्चालक समिति सदस्य बनाएका थिए । दुवैजना ‘उपभोक्ताहरूको हितको संरक्षणमा संलग्न उपभोक्तामध्येबाट नेपाल सरकारले तोकेको संस्थाका दुईजना महिलाको प्रतिनिधि’ कोटामा सञ्चालक समिति सदस्य बनाइएका थिए । राजनीतिक नियुक्ति पाएका यादव र खातुनले सरकारी भत्ता खान्छन् ।

प्रदर्शनकारीले ‘खानेपानीमन्त्री प्रदीप यादव जिन्दावाद, दोषीलाई कारबाही गर, घटनाको सत्यतथ्य छानबिन गर, खानेपानीमा राजनीति गर्न पाइँदैन...’लगायत प्लेकार्ड बोकेका थिए । वीरगन्ज हैजाले थलिँदा आफ्नै ठाउँको जनप्रतिनिधिसमेत रहेका खानेपानीमन्त्री जस्तो जिम्मेवार व्यक्तिको भूमिकामाथि प्रश्न उठाउँदा उल्टै सत्ता र शक्तिको दुरुपयोग गरेपछि वीरगन्जमा चर्को विरोध भइरहेको छ । मन्त्री यादव वीरगन्ज महानगर क्षेत्रसमेत समेटिने पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् ।

नागरिक समाजका अगुवा छठु साह एक नागरिकले आफ्नो पीडा व्यक्त गरेको विषयलाई मन्त्रीले राजनीतीकरण गरेर कानुनी दायरामा पुर्‍याउनु गलत भएको बताउँछन् । ‘एक नागरिकले मन्त्रीसामु आफ्नो पीडा आक्रोशमार्फत पनि व्यक्त गर्न सक्छ । अप्रिय शब्द बोलेको पनि हुन सक्छ । तर, मन्त्रीले आफ्नै सन्तानजस्तो व्यवहार गरेर, सम्झाएर छुटाउनुपर्थ्यो, थुनामा पठाउनबाट रोक्नुपर्थ्यो,’ उनले भने, ‘देशका शीर्ष नेताहरूलाई नै सार्वजनिक रूपमा सर्वसाधारणले अपमानजनक व्यवहार गर्दा पनि उहाँहरूले कानुनी कारबाही हुन जोगाएको नजिर छ । अहिले कानुनी दायरामा पुगेको व्यक्तिालई कारबाही गराउन र छोडाउन प्रदर्शन भइरहेका छन् । मन्त्रीले अगाडि नै मुद्दामामिलाबाट रोकेको भए राम्रो सन्देश जान्थ्यो, यो अवस्था आउँदैनथ्यो । मन्त्रीजस्तो मान्छेले सकारात्मक भूमिका खेल्नुपर्थ्यो ।’

अस्पतालमा उपचाररत परिवारका सदस्यको कुरुवा बसेको वेला शुक्रबार किरणले हैजासँग सम्बन्धित समस्या जानकारी गराउन पटक–पटक फोन गरे पनि नउठेको भन्दै मन्त्री यादवसँग गुनासोसहितको आक्रोश व्यक्त गरेकी थिइन् । ‘हैजा लागेर वीरगन्जमा मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ उनले मन्त्री यादवलाई फोनमा सोधेकी थिइन् । वीरगन्जमा वितरित पानीको गुणस्तरबारे पनि उनले प्रश्न उठाएकी थिइन् । सार्वजनिक भएको अडियो संवादमा मन्त्री यादवले ‘तपाईंसँग तथ्यांक छ हो ?’ भनेर सोधेको सुनिन्छ । त्यसपछि थप आक्रोशित बनेकी किरणले ‘तथ्यांक होइन, मेरो घरकै मान्छे आइसियूमा भर्ना छन, मन्त्रीजी । मैले छोड्दिनँ, मलाई डर लाग्दैन । मारी दिन्छु’ भनेकी छिन् । एउटा पीडित नागरिकले आक्रोश व्यक्त गरेको यही विषयलाई लिएर मन्त्री यादवले किरणविरुद्ध उजुरी दिएका थिए ।

त्यसपछि पनि किरणले ‘तपार्इंहरू वीरगन्जमा पानी दिँदा के जाँच गरेर दिनुभएको हो ?, यति धेरै मान्छे कसरी अस्पतालमा भर्ना भएका छन्, तपार्इंहरू के गर्दै हुनुहुन्छ ?’ भनेर सोधेकी छिन् । मन्त्री यादवले ‘चेकजाँच हुँदै छ’ भन्ने जवाफ दिन्छन । त्यसपछि किरणले ‘हाम्रो घरका मान्छे १० दिनदेखि अस्पतालमा भर्ना भएका छन् । तपाईंहरू एसीमा मजा लिइराख्नुभएको छ, पिएहरू पनि मजा लिँदै छन् । यति मान्छे कसरी मरेको हो ? मन्त्री भएर तपार्इं फोन उठाउनुहुँदैन’ भनेर गुनासो गर्छिन् । त्यसपछि मन्त्री यादवले पटक–पटक हप्काउँदै किरणलाई ‘फोन राख्न’ भन्छन् । तर, किरणले प्रश्न सोध्न नछाडेपछि आफै फोन काट्छन् । मन्त्री यादव र किरणबिच कुराकानी भएको अडियो शुक्रबार राति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

तर, नागरिक अगुवा साह नागरिक समस्यामा परेका वेला आक्रोशमा बोलेको विषयलाई मन्त्रीले नै मुद्दामामिला बनाउनु सही नभएको बताउँछन् । मन्त्री यादवको दबाबमा पर्सा प्रहरीले कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरणविरुद्ध तीन कसुरमा अनुसन्धान गरिरहेको छ ।

मन्त्री यादवको निर्देशनमा किरणविरुद्धको प्रदर्शनको नेतृत्व गरेकी जसपा केन्द्रीय सदस्य तथा खानेपानी संस्थान सञ्चालक समिति सदस्य मधुमाया आफ्नो राजनीतिक नियुक्ति भएकाले पार्टी आन्दोलनमा सहभागी हुन रोकतोक नरहेको जवाफ दिन्छिन् । ‘मेरो सरकारी जागिर होइन, खानेपानी संस्थान सञ्चालक समितिमा राजनीतिक नियुक्ति हो,’ उनले भनिन्, ‘पार्टीको कार्यकर्ता भएकाले प्रदर्शनमा सहभागी भएको हो, जुन मेरो अधिकार हो । मन्त्रीलाई धम्क्याउन पाइँदैन भनेर आन्दोलन गरेका हौँ ।’

अर्की सदस्य सल्माले पनि मधुमायाकै भाषा बोलिन् । ‘मैले जानेअनुसार सञ्चालक समिति सदस्यका रूपमा राजनीतिक नियुक्ति भएकाले पार्टीका काम र आन्दोलनमा जाने कुनै रोकावट छैन । मन्त्रीलाई धम्क्याएको विरुद्धमा आन्दोलन गरेको हो ।’

प्रदर्शनमा जसपा नेतृ एवं मधेश प्रदेश सभाकी पूर्वसदस्य भिमा यादव, वीरगन्ज महानगरपालिका– ३ की वडासदस्य संगीता दास, वडा नम्बर २५ की वडासदस्य तेतरी देवी, पार्टीमा आबद्ध इन्दुदेवी यादव, मुन्ना तिवारी, फूलकुमारी गिरी, निरू श्रेष्ठसहित थिए । जसपा अशोक राई नेतृत्वको पार्टी हो । 

जसपा पर्साका अध्यक्ष सिंहासन साह तेली सोमबार जसपा नेपालमा आबद्धहरूले किरणको रिहाइ माग्दै प्रदर्शन गरेकाले मंगलबार आफ्ना पार्टीका नेतृत्वहरूले आन्दोलन गरेको हुन सक्ने बताए । यसरी पक्षविपक्षमा प्रदर्शन गर्नु राम्रो नहुने उनको भनाइ छ ।

यसअघि सोमबार किरणकी आमा सावित्री साहले प्रहरी कार्यालयअगाडि प्लेकार्ड बोकेर छोरीको रिहाइ मागेकी थिइन् । उनको प्रदर्शनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका महिला नेतृहरूले साथ दिएका थिए ।

किरणका दाजु प्रमोद बहिनीले अभिभावकका रूपमा मन्त्रीलाई समस्या सुनाउँदा हिरासतमा पुर्‍याउनु दु:खद भएको बताउँछन् । ‘मन्त्री देशका अभिभावक पनि हुन् । जनतालाई समस्या पर्दा उहाँहरूलाई नै सुनाउने हो । आक्रोशित भएर समस्या सुनाउँदा अलिकति नराम्रो लागेको होला । तर, यस्ता सानो कुरामा बालबच्चा सम्झेर माफ गरिदिनुपर्छ । नेता, सांसद र मन्त्री भनेको जनताको सेवा गर्ने ठाउँ भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्छ । उहाँहरूले माफ नगरे कसले गर्छ ?’ उनको माग छ, ‘मन्त्रीलाई अभिभावक सम्झेर समस्या सुनाउँदा सहयोग गर्नुपर्थ्यो, बहिनीलाई हिरासतमा पुर्‍याएकामा दु:ख लागेको छ । बालबच्चा बुझेर हिरासतबाट निकाल्नुपर्छ । 

किरणविरुद्ध फेरि तीन दिन म्याद थप 
शनिबार पक्राउ गरिएकी किरण साहलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । यसअघि आइतबार थप भएको तीन दिनको म्याद सकिएपछि मंगलबार जिल्ला अदालत पर्साले तीन दिन थपिदिएको पर्साका डिएसपी किशोर लम्सालले बताए । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको उनले बताए । 

किरणका दाजु प्रमोद भन्छन्–मन्त्रीलाई अभिभावक सम्झेर समस्या सुनाउँदा बहिनीलाई हिरासतमा पुर्‍याएकामा दु:ख लागेको छ

मन्त्री देशका अभिभावक पनि हुन् । जनतालाई समस्या पर्दा उहाँहरूलाई नै सुनाउने हो । आक्रोशित भएर समस्या सुनाउँदा अलिकति नराम्रो लागेको होला । तर, यस्ता सानो कुरामा बालबच्चा सम्झेर माफ गरिदिनुपर्छ । उहाँहरूले माफ नगरे कसले गर्छ ? मन्त्रीलाई अभिभावक सम्झेर समस्या सुनाउँदा सहयोग गर्नुपर्थ्यो, बहिनीलाई हिरासतमा पुर्‍याएकामा दु:ख लागेको छ । बालबच्चा बुझेर हिरासतबाट निकाल्नुपर्छ । 

नागरिक अगुवा छठु साह भन्छन्– आक्रोशमा बोलेको विषयलाई लिएर थुन्न हुँदैनथ्यो, मन्त्रीले रोक्नुपर्थ्यो

एक नागरिकले मन्त्रीसामु आफ्नो पीडा आक्रोशमार्फत पनि व्यक्त गर्न सक्छ । अप्रिय शब्द बोलेको पनि हुन सक्छ । तर, मन्त्रीले आफ्नै सन्तानजस्तो व्यवहार गरेर, सम्झाएर छुटाउनुपर्थ्यो, थुनामा पठाउनबाट रोक्नुपर्थ्यो । देशका शीर्ष नेताहरूलाई नै सार्वजनिक रूपमा सर्वसाधारणले अपमानजनक व्यवहार गर्दा पनि उहाँहरूले कानुनी कारबाही हुन जोगाएको नजिर छ । अहिले कानुनी दायरामा पुर्‍याइएकी युवतीलाई कारबाही गराउन प्रदर्शन गरिएको छ । मन्त्रीले अगाडि नै मुद्दामामिलाबाट रोकेको भए राम्रो सन्देश जान्थ्यो, यो अवस्था आउँदैनथ्यो । मन्त्रीजस्तो मान्छेले सकारात्मक भूमिका खेल्नुपर्थ्यो ।