मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
तिवारी यादव वीरगन्ज
२o८२ भदौ १९ बिहीबार o६:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्री यादवलाई प्रश्न गर्दा पक्राउ परेकी किरणको स्वास्थ्यमा समस्या, १६ घण्टामा दुईपटक अस्पताल भर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o६:१८:oo

खानेपानीमन्त्री प्रदीप यादवको पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिन थालेको छ । गत शनिबारदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेकी साहको स्वास्थ्य बिग्रन थालेपछि उनलाई पछिल्ला १६ घण्टामा दुईपटक वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको छ ।

प्रहरी हिरासतमा रहेकी उनको शरीर कमजोर बन्नुका साथै पेट दुख्ने र ग्यास्ट्रिकको समस्या भएको हो । हैजाले वीरगन्ज आक्रान्त बनेका वेला परिवारका बिरामी सदस्य कुरेर अस्पतालमा रहेकै समयमा उनी प्रक्राउ परेकी थिइन् ।

शरीर कमजोर हुनुका साथै पेट दुख्ने र ग्यास्ट्रिकको समस्या देखिएपछि मंगलबार राति ८ बजे र बुधबार बिहान ११ बजे अस्पताल पुर्‍याइएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए । ‘स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगेका हौँ । चिकित्सकले स्वास्थ्य अवस्था ठिक भएको भनेपछि पुन: हिरासतमा ल्याएका छौँ,’ उनले भने ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. अविनाश श्रीवास्तवका अनुसार मंगलबार राति साहलाई शारीरिक कमजोरीका कारण ल्याइएको थियो । रक्तचाप जाँच गरी स्लाइन दिएपछि एक घण्टामा डिस्चार्ज गरिएको उनले बताए । बुधबार बिहान भने ग्यास्ट्रिक र पेट दुख्ने समस्या देखिएपछि फेरि ल्याइएको थियो ।

‘शारीरिक कमजोरी भएको भन्दै अस्पतालमा ल्याइएको थियो । ब्लडप्रेसर चेक गरेर स्लाइनपानी दिएपछि एक घण्टामा पठाइएको हो,’ उनले भने,  ‘बुधबार बिहान ११ बजे फेरि ल्याइएको थियो । अल्ट्रासाउन्ड गरेर हेर्दा समस्या नदेखिएपछि तीन घण्टामा डिस्चार्ज गरिएको हो ।’ उपचारको क्रममा किरणले भोक नलागेकाले भोक लाग्ने खालको औषधि लेखिदिन आग्रह गरेपछि सोहीअनुसार औषधि लेखिएको उनको भनाइ छ ।

मन्त्री यादवले किरणविरुद्ध आफ्नो सचिवालयमार्फत उजुरी दिन लगाएपछि गत शनिबार पक्राउ परेकी थिइन् । कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरणविरुद्ध प्रहरीले तीन कसुरमा अनुसन्धान गरिरहेको छ । मन्त्री यादवले मंगलबार उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयअगाडि कार्यकर्ता उतारेर प्रदर्शन नै गराएका थिए ।

यसअघि आइतबार थप भएको तीन दिनको म्याद सकिएपछि मंगलबार जिल्ला अदालतले तीन दिन म्याद थपेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको उनले बताए ।

छुटाउनुभयो की ?