मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १९ बिहीबार ११:२२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

कम गहिराइमा केन्द्रविन्दु रहने भूकम्पले किन निम्त्याउँछ धेरै विनाश ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार ११:२२:oo

आइतबार पाकिस्तानको सीमानजिक अफगानिस्तानको भूमिमा ६ म्याग्निच्युडको भूकम्प गयो । यस प्राकृतिक प्रकोपका कारण सोमबार रातिसम्म कम्तीमा ८०० जनाको मृत्यु भएको छ भने दुई हजार ५०० जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब आठ किलोमिटर गहिराइमा रहेको अमेरिकाको भूगर्भीय सर्वेक्षण गर्ने संस्था युनाइटेड स्टेट्स जियोलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ ।

भूकम्पविद्का अनुसार जमिनको सतहबाट कम गहिराइ भूकम्पको केन्द्रविन्दु हँुदा जमिन बढी हल्लिने हुन्छ । परिणामस्वरूप क्षति झन् विनाशकारी हुन्छ । विशेष कमजोर घर तथा संरचना सहजै भत्कने भएकाले हताहती पनि बढ्ने गर्छ । प्राय: धेरै भूकम्पको केन्द्रविन्दु सतहबाट कम गहिराइमै हुन्छन् । आखिर उस्तै म्याग्निच्युडका भूकम्पमा पनि सतहनजिकका भूकम्प किन बढी विनाशकारी हुन्छन् ? 

भूकम्प कसरी हुन्छ ?
सरल शब्दमा भन्नुपर्दा पृथ्वी हल्लिएको अवस्थालाई भूकम्प भनिन्छ । पृथ्वीको सबैभन्दा माथिल्लो पत्र ‘क्रस्ट’ कैयौँ किलोमिटर मोटो कडा चट्टानबाट बनेको हुन्छ । यो विभिन्न ‘टेक्टोनिक प्लेट’ भनिने चलायमान टुक्रा–टुक्रामा विभाजित रहेको हुुन्छ । टेक्टोनिक प्लेट क्रस्टभन्दा मुनि ‘म्यान्टल’ भनिने तातो, तरल पदार्थ ‘समुद्र’माथि रहेकाले थोरै–थोरै सरिरहेको हुन्छ । यसरी सर्ने प्लेटले छेउमा रहेका अन्य प्लेटलाई धक्का दिने गर्छ वा निरन्तर ठेलिरहेको हुन्छ । अलग–अलग टेक्नोनिक प्लेटहरू जोडिएको भागका भूसतहमा भूकम्प र ज्वालामुखी जाने गर्छन् । 

तलको तातो तरल पदार्थले गर्दा प्लेटहरू प्राविधिक रूपमा हलचल गर्न त सक्छन् । तर, छेउको अर्को प्लेटले ‘लक्ड’ गरेकाले व्यावहारिक रूपमा भने स्थिर हुन्छ । जब तलको तातो तरल चट्टानको पत्रमा ‘फल्ट’ भनिने चट्टानको लामो धाजा पैदा हुन्छ, तब माथि प्लेटहरूको हलचल बढ्छ । त्यस क्रममा उत्पन्न हुने दबाबले प्लेटमा अलि ठुलो हलचल हुन्छ र त्यो ऊर्जा वरपरको चट्टानमा विस्फोट हुन्छ ।

वैज्ञानिकहरूले सिस्मोग्राफमार्फत जमिन हल्लेको तीव्रता मापन गर्छन् । पहिले हल्लने सुईका रूपमा रहने सिस्मोग्राफ आजकल डिजिटल संस्करणमा पाइन्छ । हिजोआज सिस्मोग्राफको विश्वव्यापी सञ्जाल निर्माण गरिएको छ । त्यसअतिरिक्त स्थानीय र क्षेत्रीय सञ्जाल पनि बनाइएको छ । यी सञ्जालको तथ्यांक प्राय: सबैको पहुँचमा रहने व्यवस्था गरिएको छ । कम्तीमा तीनवटा मापन मिलाएर यस प्रणालीले भूकम्प कहाँ गएको हो, कुन समयमा गएको हो र यसको तीव्रता कति हो भनेर नक्सांकन गर्न सक्छ ।

उसो त भूकम्प मापन गर्ने धेरै तरिका छन् । तर, सबैभन्दा सामान्य स्केलले तिनको समग्र तीव्रतालाई जनाउँछ । मापनको प्रत्येक एकाइमा वृद्धि हुँदा भूकम्पको शक्तिमा दश गुणा वृद्धि हुने गर्छ । त्यस्तै भूकम्पको शक्तिमा गहिराइ पनि एक प्रमुख कारक हुने गर्छ । 

कम गहिराइबाट गएको भूकम्प किन बढी विनाशकारी हुन्छ ?
समान म्याग्निच्युड भएका दुईवटा भूकम्पको समेत केन्द्रविन्दु जमिनको सतहबाट कति मुनि छ भन्ने कुराले तिनले कति क्षति पुर्‍याउँछन् र सतहमा कति बलियो धक्का महसुस हुन्छ भन्ने कुरामा ठुलो फरक पार्न सक्छ । कम गहिराइमा केन्द्रविन्दु रहेको भूकम्प धेरै विनाशकारी हुनुको मुख्य कारण भूकम्पको ऊर्जा छिट्टै भवन वा अन्य पूर्वाधारमा पुग्नु हो । 

तर, जमिनबाट धेरै गहिराइमा केन्द्रविन्दु रहेको भूकम्पको ऊर्जा चट्टानको विभिन्न तह हँुदै सतहसम्म आइपुग्दा धेरै नष्ट भइसकेको हुन्छ । यसविपरीत, सतहको नजिकै केन्द्रविन्दु भएको भूकम्पले आफ्नो ऊर्जा जमिननजिक छोड्छ ।  यसले गर्दा बलियो कम्पन र घना बस्ती भएका क्षेत्रमा भए बढी क्षति हुन्छ । केन्द्रविन्दुको गहिराइका आधारमा भूकम्पलई सामान्यतया तीन समूहमा वर्गीकरण गरिन्छ– ‘स्यालो फोकस’ ( सतहदेखि ७० किमि गहिराइमा केन्द्रविन्दु रहेको) , ‘इन्टरमेडियट फोकस’ (सतहदेखि ७० देखि ३०० किमिमा केन्द्रविन्दु रहेको) र ‘डिप फोकस’ (३०० किमि गहिराइदेखि ७०० किमि गहिराइसम्म केन्द्रविन्दु रहेको) । 

अफगानिस्तानमा किन धेरै भूकम्प जान्छ ?
अफगानिस्तान पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रमध्ये एक हो । हिन्दुकुश पर्वत शृंखला कम गहिराइ र धेरै गहिराइ केन्द्रविन्दु हुने दुवैखाले भूकम्प जाने क्षेत्र हो । दुईवटा टेक्टोनिक प्लेट, भारतीय प्लेट र युरेसियन प्लेटबिचको टक्करको कारण यो क्षेत्रमा भूकम्प अत्यधिक सक्रिय छ । 

दुई टेक्टोनिक प्लेटबिच सिर्जना हुने विशाल दबाबले ‘क्रस्ट’लाई नै मोड्ने र भाँच्नेसम्म गर्छ । यस क्रममा माथिको क्रस्ट (लिथोस्फियर)का भाग म्यान्टलसम्म ठेलिएका छन् । यस प्रक्रियामा उत्तरी अफगानिस्तानको पामिर–हिन्दुकुश क्षेत्रले २०० किलोमिटरसम्मको गहिराइमा केन्द्रविन्दु रहने भूकम्प आउने गरेको छ, जुन विश्वमै दुर्लभ घटना मानिन्छ । यसविपरीत, सुलेमान पर्वतमाला (पश्चिमी पाकिस्तान र दक्षिणपूर्वी अफगानिस्तान) र मुख्य पामिर थ्रस्टनजिक जाने भूकम्प भने सामान्यतया कम गहिराइमा केन्द्रविन्दु हुने र विनाशकारी हुन्छन् । 

अलजजिराबाट

छुटाउनुभयो की ?