
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले विधान महाधिवेशन प्रतिनिधिहरूका लागि अलग्गै अपिल जारी गर्ने भएकी छिन् । पार्टी निर्णयले राजनीतिमा फर्किने ढोका बन्द भएर महाधिवेशन प्रतिनिधि बन्न वञ्चित भएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीको पूर्वउपाध्यक्षको हैसियतमा शुक्रबार बिहानसम्म अपिल जारी गर्न लागेकी हुन् ।
भण्डारीको स्वकीय सचिवालयका अनुसार उनले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई जनताको बहुदलीय जनवादको मार्गदर्शनमा एमालेलाई देशकै निर्णायक र ठुलो शक्ति निर्माण हुने गरी राम्रो कार्यदिशा र विधान निर्माणका लागि आह्वान गर्नेछिन् ।
त्यस्तै, उनले विधान महाधिवेशन प्रतिनिधिलाई विवेकसम्मत ढंगले पार्टीभित्रको आन्तरिक समस्याबारे खुलेर छलफलका लागि पनि आह्वान गर्ने पनि तयारी गरेकी छिन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०–२२ भदौमा एमालेको विधान महाधिवेशन हुँदै छ ।