
विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान मस्यौदा प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गर्नेछन् । ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यका रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको पनि जानकारी दिए ।
उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ । साथै, पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्युरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहनेलगायत नयाँ व्यवस्था प्रस्ताव गरिएको छ भने पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको छ ।
महासचिव पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपाय, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको एमालेले जनाएको छ । प्रस्तावमा मुलुकमा राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्वाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ ।
एमालेले विधान महधिवेशन सफल पार्न आठवटा विभिन्न समितिले काम गरिरहेको जानकारी दिँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनको उद्घाटन बिहान ११ बजे ललितपुरको गोदावरीमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गर्नेछन् ।
विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जना सहभागी हुनेछन् । एमालेले विधान महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने तय गरेको छ ।
विधान महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीले अपिल गर्ने
पूर्वराष्ट्रपति विद्या भण्डारीले विधान महाधिवेशन प्रतिनिधिहरूका लागि अलग्गै अपिल जारी गर्ने भएकी छिन् । पार्टी निर्णयले राजनीतिमा फर्किने ढोका बन्द भएर महाधिवेशन प्रतिनिधि बन्न वञ्चित भएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीको पूर्वउपाध्यक्षको हैसियतमा शुक्रबार बिहानसम्म अपिल जारी गर्न लागेकी हुन् ।
भण्डारीको स्वकीय सचिवालयका अनुसार उनले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई जनताको बहुदलीय जनवादको मार्गदर्शनमा एमालेलाई देशकै निर्णायक र ठुलो शक्ति निर्माण हुने गरी राम्रो कार्यदिशा र विधान निर्माणका लागि आह्वान गर्नेछिन् ।
त्यस्तै, उनले विधान महाधिवेशन प्रतिनिधिलाई विवेकसम्मत ढंगले पार्टीभित्रको आन्तरिक समस्याबारे खुलेर छलफलका लागि पनि आह्वान गर्ने पनि तयारी गरेकी छिन् ।