Skip This
सेबोन अध्यक्ष श्रेष्ठ अख्तियार धाएकोधायै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेबोन अध्यक्ष श्रेष्ठ अख्तियार धाएकोधायै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१२:oo
  • आइपिओ स्वीकृतिका लागि घुस बार्गेनिङ गरेको र अध्यक्ष नियुक्त हुन योग्यता नपुगेको उजुरीपछि अख्तियारले तीनपटक लिइसक्यो बयान

जलविद्युत् प्रवर्द्धकहरूसँग आइपिओ स्वीकृतिका लागि घुस बार्गेनिङ गरेको र अध्यक्ष नियुक्त हुन योग्यता नपुगेको उजुरीपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ अख्तियारको अनुसन्धानमा तानिएका छन् । करिब साढे दुई महिनामा अख्तियारले श्रेष्ठलाई तीनपटकसम्म बोलाएर बयान लिइसकेको छ ।

चार महिनाअघि इप्पानका उच्चपदस्थ अधिकारीहरूले श्रेष्ठको नामै किटान गरेर आफूहरूसँग घुस मागेको विषय बाहिर ल्याएका थिए । त्यसपछि २४ वैशाखमा अख्तियारले ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमै पुगेर आइपिओसम्बन्धी कागजात जफत गरी श्रेष्ठसँग सोधपुछ गरेको थियो । त्यसयता श्रेष्ठलाई तीनपटक आयोगमै बोलाएर बयान लिएको बोर्ड स्रोतले बतायो । पछिल्लोपटक १३ साउनमा बयानका लागि उनी आयोगको कार्यालय पुगेका थिए ।

१३ साउनको बयानपछि कार्यालयमा श्रेष्ठको उपस्थिति नै पातलिएको बोर्डका अधिकारीहरू बताउँछन् । ‘१३ साउनमा अख्तियारमा बयान दिएपछि अध्यक्षज्यू बोर्डमा एकदम कम उपस्थित भइरहनुभएको छ,’ एक कर्मचारीले भने ।

अख्तियारले तीनपटकसम्म बयान लिएको विषयमा जिज्ञासा राख्दा श्रेष्ठ जानकारी नभएको भन्दै पन्छिए । ‘मलाई त जानकारी छैन, अख्तियारबाटै आधिकारिक बुझ्नुभए हुन्छ,’ उनले भने ।

अख्तियारमा अध्यक्ष श्रेष्ठविरुद्ध चार उजुरी छन् । जलविद्युत् प्रवर्द्धकहरूसँग आइपिओ स्वीकृतिका लागि घुस बार्गेनिङ गरेको भन्दै उजुरी परेपछि अख्तियारले लगत्तै उनलाई बयानका लागि बोलाएको थियो । त्यसपछि उनको नियुक्तिलाई लिएर बयान लिएको थियो । उनको अनुभव (योग्यता) नपुग्दै अध्यक्षमा नियुक्ति भएको उजुरीका आधारमा बयानमा बोलाइएको हो ।

धितोपत्र बोर्डको अध्यक्ष हुनका लागि धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको हुनुपर्ने धितोपत्रसम्बन्धी ऐनमा व्यवस्था छ । तर, श्रेष्ठको सात वर्षको कार्यानुभव नपुग्ने भन्दै उजुरी परेको छ । त्यस्तै, ट्रेड टावर, माबिलुङ इनर्जी र बुंगल हाइड्रोलाई सेयर निष्कासनको अनुमति दिएको विषयविरुद्ध पनि उजुरी परेको छ । मुख्यत: जलविद्युत् प्रवर्द्धकसँग घुस डिल गरेको र अध्यक्ष नियुक्तिमा योग्यता नपुग्ने भन्दै परेका उजुरीमाथि अख्तियारले गहन अनुसन्धान गरिरहेको छ ।

विवादित व्यवसायी दीपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्ससँग लेनदेनको प्रमाण

अख्तियारको प्रारम्भिक अनुसन्धानले विवादित व्यवसायी दीपक भट्टको शतप्रतिशत स्वामित्वको इन्फिनिटी होल्डिङ्ससँग श्रेष्ठले लेनदेन गरेको तथ्य फेला पारेको छ । यसले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर नियामक निकायमा नियुक्ति लिएको आरोपलाई बल पुर्‍याएको छ । श्रेष्ठलाई दीपक भट्टकै जोडबलमा नियुक्ति दिइएको भन्दै उजुरी परेपछि उनीमाथि छानबिनको क्रममा अख्तियारले इन्फिनिटी होल्डिङ्ससँगको आबद्धता फेला पारेको हो ।

इन्फिनिटी होल्डिङ्सको ३१ असार ०७८ सम्मको वित्तीय विवरणमा श्रेष्ठको नाममा तीन लाख ९४ हजार रुपैयाँ भुक्तानी भएको उल्लेख छ । विगतदेखि दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन हिमालयन स्टक एक्सचेन्जको नामबाट प्रस्ताव पेस गरिसकेका भट्टले आफ्नो स्वार्थपूर्तिका लागि राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पारेर श्रेष्ठलाई सेबोन अध्यक्ष बनाएको आरोपमा यसले थप बल पुर्‍याएको छ ।