
धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको मूल्यको प्रतिनिधित्व गर्ने सूचक बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेर कीर्तिमानी कायम भएको छ । गत वर्ष १८ फागुनमा ४७ खर्ब ९९ अर्ब रुपैयाँ बजार पुँजीकरण पुगेको थियो ।
सोमबारको बजार पुँजीकरणले करिब पाँच महिनापछि नै कीर्तिमानी कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको सेयर मूल्यको जोड नै बजार पुँजीकरण हो । सर्वसाधारणलाई जारी हुने सेयरका आधारमा गणना हुने फ्लोटेड बजार पुँजीकरण १६ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ ।
सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेको छ । जसमा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले बढेको छ ।
सेयर कारोबारी अग्रवाल पक्राउ
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । स्टक ब्रोकर कम्पनीलाई ठगी गरेको जाहेरीका आधारमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । एक स्टक ब्रोकर कम्पनीसँग उनको करिब २२ करोड लेनदेनको विवाद थियो । अग्रवालले कम्पनीलाई तिर्नुपर्ने पैसा नतिरेर ठगी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।