
अन्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अन्डाको लागत मूल्य पाएका छन् ।
नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजबाट लागू हुने गरी ठुलो अन्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) रु. ५२५ कायम गरिएको छ । मध्यम रु. ४९५ कायम भएको छ ।
चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अन्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट)को रु. तीन हजार ८५५ र मिडियमको रु. तीन हजार ६४५ कायम गरिएको छ ।
अध्यक्ष पोखरेलका अनुसार यसअघि गत वर्षको भदौमा ठुलो अन्डाको मूल्य प्रतिक्रेट रु. ५१० पुगेको थियो । उनले भने, ‘हालसम्मकै उच्च रेट अन्डाको कायम भएको छ ।’ यससँगै किसानले लागत मूल्य पाएको उनले बताए । अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।
अन्डा उत्पादनमा संलग्न कुखुराको संख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उनले बताए ।
उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा अन्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ ।’ मूल्य बढ्दा किसान उत्साहित भएका छन् । यकिन तथ्यांक नभए पनि हाल दैनिक २८–३० लाख गोटा अन्डा उत्पादन भइरहेको अनुमान छ । यो संख्या पहिलाको तुलनामा झन्डै आधा कम हो ।