मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ६ मंगलबार १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १२:४५:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् । 

कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तर्क्रियामा उनले बिपीको मेलमिलाप नीति आज पनि सान्दर्भिक भएको बताए । 

सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे । ‘वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ,’ सभापति देउवाले भने । 

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सदभाव ठुलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाइ छ । उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याएको सभापति देउवाले बताए।

  बिपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उनको भनाइ छ । उनले बिपी कोइराला सधैँ आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताए । 

देउवाले भारत निर्वासनमा रहेर तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको वेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठवटा ज्यान मुद्दा हुँदाहुँदै बिपी नेपाल फर्किएको स्मरण गरे । बिपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ छ ।