मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ६ मंगलबार o७:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काभा च्याम्पियनसिप लिग–२०२५ : हेल्प नेपालको फाइनल सम्भावना कायमै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार o७:४८:oo
  • काभा च्याम्पियनसिप लिगमा उत्कृष्ट पुनरागमन गरेको हेल्प नेपालले आफ्नो तेस्रो खेलमा काजकस्तानको टोलीलाई ३–२ को सेटमा निराश बनाउँदै शीर्ष दुईको सम्भावना जीवित राख्यो

नेपालबाट प्रतिनिधित्व गरेको हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ मा तेस्रो जित निकालेको छ । हेल्प नेपालले सोमबार बलियो काजकस्तानको जेटेएचके भलिबल क्लबलाई ३–२ को सेटमा हराएको हो । हेल्प नेपाल चार खेलबाट ६ अंक बटुलेको छ । यसअघि नेपाली लिग च्याम्पियन हेल्प नेपाल आफ्नो तेस्रो खेलमा कीर्गिस्तानको बिस्केक क्लबसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । 

यसपटक भने हेल्प नेपालले दोस्रोपटक पाँच सेटमा बाजी मार्न सफल भयो । हेल्प नेपालले महŒवपूर्ण दुई अंक बटुल्दै फाइनलको आशा जीवितै राखेको हो । यसअघि पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ ले हराएको थियो । दोस्रो खेलमा आयोजक माल्दिभ्सकै क्लब एचडिसीलाई ३–१ ले पाखा लगायो । 

हेल्प नेपालविरुद्ध अन्तिम सेटमा पराजित काजकस्तानको क्लबले एक अंक बटुलेको छ । नेपाली टोलीसँग पराजित भए पनि यो टोली शीर्ष स्थानमै छ । अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछन् । हेल्प नेपाल साबिक उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपाल भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजित भएको थियो । 

उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालले पाकिस्तानबाट उस्मान फर्याद अली, मुराव जेहान र मोहम्मद कासिफ नभिदलाई अनुबन्ध गरेको छ । नेपाल पुलिस क्लबबाट सफल विश्वकर्मा, रविन नगरकोटी, रवीन्द्र चन्द र एपिएफका लिबेरो विनोद चन्द हेल्प नेपालमा आबद्ध छन् । 

सन्तोष राई, चिरञ्जीवी खड्का, सुवास कुँवर, मनीष मानन्धर, यमबहादुर भण्डारी र विष्णुबहादुर क्षेत्री हेल्प नेपालको प्रतिनिधित्व गरिरहेका छन् । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा)को आयोजनामा भइरहेको प्रतियोगिता एकल राउन्ड रोबिनका आधार खेल सञ्चालन भइरहेको छ । काभा च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्ने अवसर पाउनेछ । 

१७ देखि २३ जुलाईसम्म चल्ने प्रतियोगितामा सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । राउन्ड रोबिन लिगको शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुँदा तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

लगातार दुई खेल पाँच सेट
शीर्ष स्थानमा रहेको काजकस्तानको टोलीविरुद्ध हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । निर्णायक तथा पाँचौँ सेटमा सम्हालिएर खेल्दा हेल्प नेपालले महŒवपूर्ण अंक जोड्न सफल भयो । चार सेटको समाप्तिसम्म दुवै टोलीले २–२ को बराबरी गरेका थिए । त्यसपछि पाँचौँ सेटबाट विजेताको छिनोफानो भयो । जसमा हेल्प नेपालले १५–११ ले बाजी मार्‍यो । पाकिस्तानी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा हेल्प नेपालले सर्भिस, रिसिभ र डिफेन्स बलियो पकड बनाएको थियो । काजकस्तानको टोलीले पहिलो सेटमा चुनौती प्रस्तुत गरे पनि हेल्प नेपाल २५–२२ ले विजयी भयो । 

पहिलो सेटमा खासै गल्ती नगरेको हेल्प नेपालले त्यसपछिका दुई सेटमा कमजोर प्रदर्शन गरेको थियो । एकपछि अर्को गल्ती गर्दैै जाँदा हेल्प नेपालले दोस्रो सेट १८–२५ को अन्तरमा गुमायो । उत्कृष्ट पुनरागमन गरेको काजकस्तानको टोलीले तेस्रो सेट जित्न कडा मिहिनेत गरेको थियो । यस सेटमा हेल्प नेपालले निरन्तर रूपमा विपक्षीमाथि दबाब राखेको थियो । यद्यपि, अन्तिममा सामान्य गल्ती गर्न पुग्दा उसले २३–२५ ले सेट गुमाएको थियो । 

लगातार दुई सेट गुमाएको हेल्प नेपाललाई खेलमा टिकिरहन चौथो सेट जित्नुपर्ने दबाब थियो । योजनाअनुरूप हेल्प नेपालले यसपटक कुनै पनि गल्ती गरेन । कोर्टमा संगठित रूपमा प्रतिस्पर्धा गरेको हेल्प नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्‍यो । यस सेट हेल्प नेपाल २५–१८ ले विजयी भयो ।