
मकवानपुरमा गत आर्थिक वर्ष ०८१/८२ को अवधिमा सवारी दुर्घटना, लागुऔषध कारोबार, अवैध भन्सार छली र अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको छ भने १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (प्रनाउ) श्यामु अर्यालका अनुसार जिल्लाभरका प्रहरी इकाइहरूले ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, फैसला कार्यान्वयन र लागुऔषध नियन्त्रणलगायतका अभियानअन्तर्गत एक हजार ७५ वटा मुद्दामा ९२८ जना अभियुक्तलाई पक्राउ गरेका छन् ।
लागुऔषधमा कडा निगरानी
लागुऔषधसम्बन्धी १८८ वटा मुद्दामा २८९ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये २७६ जना नेपाली र १३ जना विदेशी नागरिक छन् ।
प्रहरीले उक्त अवधिमा ६ हजार चार किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान ट्रामाडोल तथा नाइट्राभेटर, दुई हजार ७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । साथै, ५५ वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ ।
यस्तै, मकवानपुर प्रहरीले १२० बिघा ४ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिघा १४ कट्ठा अफिमको खेती नष्ट गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भन्सार छली र अवैध कारोबार नियन्त्रण
प्रहरीको अवैध भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १६ करोड १७ लाख ७४ हजार रुपैयाँबराबरको अवैध सामान नियन्त्रणमा लिइएको छ । यसमा १२ करोड १७ लाख रुपैयाँबराबरको सुन, करिब साढे तीन लाखबराबरको चाँदी, दुई करोड ५९ लाखबराबरको लत्ताकपडा र खाद्यान्न, १० वटा सवारीसाधन र ६२ लाख ९० हजारबराबरको अवैध मुद्रा समावेश छन् ।
यही अवधिमा मकवानपुर प्रहरीले १८३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट एक करोड २१ लाख ७३ हजार रुपैयाँ जरिवाना असुल गरिएको र ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ । सवारी नियम उल्लंघन गर्नेविरुद्ध गरिएको ३० हजार ३४ वटा कारबाहीबाट दुई करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।