
स्ट्राइकर इमा राईको ह्याट्रिकको सहयोगमा आइतबार झापा एफसीले राष्ट्रिय महिला लिग छनोटमा कास्कीको नेपाल बेस्ट म्यानेजमेन्ट महिला टोलीलाई ७–० को फराकिलो अन्तरले हराएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा समूह ‘बी’को आफ्नो पहिलो खेलमै झापाले महत्वपूर्ण तीन अंक जोड्यो । झापाका लागि पुष्पाकुमारी खड्काले दुई गोल गरेका थिए । यसैगरी, सुनकला राई र मनिता तामाङले विपक्षी पोस्टमा समान एक गोल गरेका थिए ।
मोरङ घर भएकी इमाले खेलको २५औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन् । उनले मध्यान्तरपछि थप दुई गोल गरी पहिलो खेलमै ह्याट्रिक गरेकी हुन् । उनले खेलको ५७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेकी हुन् । इमा छनोट खेलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् ।
यसअघि काठमाडौंको स्टुडेन्ट फुटबल क्लबले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक एफसीलाई ३–१ ले हराउँदा सबिना तामाङले पहिलो ह्याट्रिक गरेकी थिइन् । झापाका लागि पुष्पाले खेलको ८५औँ र ८७औँ मिनेटमा गोल गरिन् । सुनकलाले खेलको १७औँ मिनेटमा झापालाई १–० को अग्रता दिलाएकी थिइन् । मनिताले खेलको ८१औँ मिनेटमा गोल गरिन् । समूह ‘बी’मा कास्कीले हारबाट छनोट यात्रा सुरु गरेको छ । नेपाल सुपर लिगमा आबद्ध झापा एफसी पहिलोपटक महिला लिग छनोटमा सहभागी भएको हो ।
१४ टोली सहभागी छनोट खेलबाट पाँच टोली महिला लिगमा छानिनेछन् । गत सिजन शीर्ष पाँचमा परेका विभागीय तीन टोलीसहित बागमती युवा र वालिङ नगरपालिकाले महिला लिग सुरक्षित गरिसकेका छन् ।