
रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कारागारमा अमानवीयतापूर्वक राखिएको सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगकी सदस्य लिली थापा नेतृत्वको टोली सोमबार बिहान १०:५० बजे भैरहवा कारागार पुग्यो । आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोलीले सुरुमा केहीबेर जेलर सुरेश भण्डारीसँग छलफल गर्यो, त्यसपछि ब्लक १ र २ को निरीक्षण गर्यो । अनि लाग्यो रास्वपा सभापति रविलाई थुनामा राखिएको ब्लक नम्बर ४ तिर ।
११:२० बजे रविलाई थुनिएको कोठाको बाहिर पुगेपछि जेलर भण्डारीले खबर सुनाए– ‘सर, मानव अधिकार आयोगको टोली आएको छ ।’ फलामे बारभित्रको जाली ढोका खोल्दै रविले प्रश्न गरे– ‘ए, यो देशमा मानव अधिकार आयोग पनि छ र ?’
जवाफमा आयोग सदस्य थापाले भनिन्– छ नि, त्यसकारण त आयौँ ।
रविले भने– मलाई कुन सुविधा दिएर राखेको छ भनेर हेर्न आउनुभएको होला, होइन ? हेर्नुस् के–के सुविधामा छु म । सोध्नुस्, के सोध्न चाहनुहुन्छ ?
थापाले सोधिन्– तपाईंको दैनिकी कस्तो छ, यो कोठाबाट बाहिर निस्किन पाउनुहुन्छ कि पाउनुहुन्न ?
रविले बेलीविस्तार लगाए– यो कोठा नै मेरो लागि जेल हो । कपाल काट्न, प्रेसर चेक गर्नेजस्ता कामका लागि कहिलेकाहीँ निस्कन्छु । अँध्यारो भएपछि कहिलेकाहीँ हिँड्न खोज्छु, अत्यधिक गर्मीले सकिन्न । उज्यालोमा बाहिर हावा खाएको छैन, सूर्य र आकाश राम्ररी देखेको छैन । उहाँहरू सुरक्षा चुनौती छ भन्नुहुन्छ । कहिलेकाहीँ पानी पर्दा फलामको ढोकाबाट हात बाहिर निकालेर औँलाहरू भिजाउँछु, रमाइलो लाग्छ । अरू कैदीबन्दी सुत्ने वेलामा मात्र कोठाभित्र जान्छन् । मेरो लागि यो कोठा नै सिंगो जेल हो । बस्तीको बिचमा छ, बोर्डरको छेउ राजनीतिक प्रतिशोधको बन्दीलाई यसै पनि कति खतरा होला । अरू कुरा आफैँ सोधी हेर्नुस् न कारागारका कर्मचारीहरूलाई ।
रविले यति भनेपछि टोली कोठाभित्र छिर्छ । साथमा केही प्रहरी र कारागार कर्मचारी पनि प्रवेश गर्छन् । कोठाभित्र छिर्ने बित्तिकै बाफ आउने गरी गुम्सिएको तातो हावाले सबैलाई असहज हुन्छ । रवि अनुभव सुनाउँछन्– ‘आज त सिमसिम पानी परेको छ, यति शीतल त म यहाँ आएदेखि कहिल्यै पनि भएको थिएन । तपाईंहरू भाग्यमानी हुनुहुँदो रहेछ, राम्रो दिनमा आउनुभयो ।’
मानव अधिकार आयोग र इन्सेकका प्रतिनिधिले कोठाभित्र प्लाइवुडले ढाकेको झ्याल हेरे । कोठामा छिर्ने फलामे ढोकाको मुनि सर्प नआओस् भनेर कपडा कोचेर प्वाल टालेको दृश्य हेरे । दुईवटा प्लास्टिकको बाल्टिन भएको पुरानो कोठा छेउको ट्वाइलेट हेरे । यो दृश्य देखेर उनीहरू स्तब्ध देखिन्थे । रविले आफ्नो वासस्थानमा आएका पाहुनाप्रति सत्कारको शैलीमा भने– मेरो भिआइपी रुममा तपाईंहरूलाई स्वागत छ ।
त्यसपछि रविले कोठाभित्रका थप चित्र देखाउँदै गए– नुहाएर धोएको अन्डर गार्मेन्ट यहाँभित्र दुई दिनसम्म सुक्दैन, अप्ठ्यारो नमान्नुस् है, यतै सुकाएको छु । यो ट्वाइलेटको धारोमा फोहोर पानी आउँछ, त्यसैले प्रत्येक दिन दुई बाल्टिन नुहाउने पानी बाहिरबाट माग्छु । कोठाकै छेउमा पुरानो आधावाल लगाएको खुला ट्वाइलेट पनि देखाउँदै उनले थपे– ट्वाइलेट खुला भएको हुनाले सफा गरिरहनुपर्छ, नत्र दुर्गन्ध आउँछ । रविले भनिनभ्याउँदै टोली प्रतिनिधिबाटै थप जिज्ञासा आयो– यो कोठामा त हावा कतैबाट आउँदैन त !
यतिन्जेलसम्म कोठाभित्र आएका सबैको अनुहारभरि पसिना आइसकेको थियो । उनीहरूका अनुहार नियाल्दै रविले भने– मलाई त बानी परिसक्यो, अहिले एउटा पंखाले काम गर्छ, अनि दिउँसो भएपछि दोस्रो पंखा चलाउँछु । त्यसपछि क्रमश: टिसर्ट खोल्छु । पसिनाले यति गाह्रो हुन्छ कि लुगा लगाएर कोठामा बस्न सकिँदैन । यता हेर्नुस्, यो मेरो बेड हो । यहाँ सुत्दा सिंगो शरीर अट्दैन । खुट्टा खुम्च्याउनुपर्छ । यही कोठाको एउटा कुनामा हल्का व्यायाम गर्छु ।
निरीक्षणमा गएका आयोग र इन्सेकका अधिकारी रविका भनाइ टिप्दै कोठाको दुरावस्था नियाल्दै मलिन अनुहार लगाइरहेका थिए । रवि आफ्नो अवस्था सविस्तार बताइरहेका थिए । ‘तपाईंहरू नरिसाउनुहोला, मलाई तपाईंहरूप्रति कुनै आशा र भरोसा छैन । त्यसैले, म अन्तर्राष्ट्रिय मानव अधिकार कार्यालयहरूमा जाने सोचमा छु । तैपनि आउनुभो धन्यवाद ! तर, आउने, सुन्ने, रिपोर्ट लेख्ने, तर त्यसले खासै प्रभाव नपर्ने भएको हुनाले यस्तो अप्रभावकारी काम केवल जागिरका लागि नगर्दिनुहोस् । मलाई थाहा छ, तपाईंहरूको नियुक्ति राजनीतिक नियुक्ति हो । तर, मानव अधिकार आयोगजस्तो संवेदनशील ठाउँमा बसेर प्रभावकारी काम नगर्ने हो भने देशमा व्याप्त निराशाको ठुलो हिस्सा तपाईंहरूले पनि बोक्नुपछ । मलाई होइन, आज चोकमा उभिएर ‘के तपाईंलाई मानव अधिकार आयोगप्रति विश्वास छ’ भनेर जनतालाई सोध्नुस् त । जवाफ आउँछ– नो, छैन । कहाँ हुनुहुन्थ्यो तपाईंहरू, जब मलाई मध्यरातमा चितवनबाट पोखरा लगियो । मेरो ब्लडप्रेसर बढेर १८० पुग्दा मलाई चेक नगराउने, मेरो परिवारलाई थाहा नदिने प्रहरी अफिसरमाथि के कारबाही गर्नुभयो ? त्यस्तो आदेश दिने आइजी, गृहमन्त्रीलाई के गर्नुभो ? कारबाही त परको कुरा गृहमन्त्रीले तिनै अफिसरलाई पुरस्कारस्वरूप विधि मिचेर तीन महिना पनि नपुग्दै पर्सामा सरुवा गरे, जहाँ मेरो मुद्दा उनले छेडखानी गरी हुँदै नभएको थप बिगो थोपरेर दर्ता गराए । आज ती एसपी उत्कृष्ट प्रहरीको अवार्ड थापिरहेका छन् रे । जसले मेरो ज्यान लिन खोज्यो ती सबै पुरस्कृत छन् । कहाँ हुनुहुन्थ्यो र कहाँ हुनुहुन्छ तपाईंहरू ? त्यसपछि पनि तपाईंहरू देखिनुभएन । मेरो बेडरुममा हतियारधारी प्रहरी आए । विनापुर्जी, विनाप्रक्रियागत कागजात मलाई अनुसन्धान गर्न भनेर लिएर गए ।
अदालतमा मुद्दा बुझाइसकेपछि प्रहरीले अनुसन्धान गर्छ ? मलाई ‘अन्तिम इच्छा’ सोधियो । कहाँ हुनुहुन्थ्यो तपाईंहरू ? कहाँ हुनुहुन्छ तपाईंहरू ? अहिले पनि तपाईंहरूले बनाउने रिपोर्टले के फरक पर्छ मलाई ? यो कारागारको अवस्था देख्नुभयो, बोर्डरको छेउमा बस्तीको बिचमा मजस्तो राजनीतिक बन्दीलाई राज्य लागेका वेलामा कति ठुलो थ्रेट होला ? मेरीश्रीमतीलाई पिर पर्छ भनेर मैले यो अवस्था भनिनँ, बरु अदालतको निवेदनमा खुलाएर लेखेँ । त्यो निवेदनमा पनि मैले भनेको छु । सम्मानित अदालतले आफैँ आएर मेरो अवस्था हेरोस् । मलाई मानव अधिकारवादी संस्थासँग विश्वास छैन । कारागार कार्यालय र सिडिओ कार्यालयले यो कुरा बुझी मलाई काठमाडौं पठाउनका लागि प्रक्रिया अगाडि बढाए । सम्मानित अदालतले मलाई अड्डासार गर्न भन्यो । एउटा बन्दीका रूपमा त्यो मेरो अधिकार थियो । तर, राज्य ममाथि कति निर्मम भइरहेको छ कि यस्तो अवस्थाको कारागारमा राखेर मलाई अड्डा सार्नसमेत दिँदैन भनेपछि गृहमन्त्री, प्रधानमन्त्री र सिंगो राज्य त मलाई मानसिक र शारीरिक रूपमा सिध्याउन चाहन्छ नि । यस्तो अवस्थालाई चित्रण गरेर मलाई अड्डासारको सिफारिस गर्ने सिडिओलाई गृहमन्त्रीले समयभन्दा अगाडि सरुवा गरे । अब बताउनुस्, यस्तो तानासाह राज्यसँग म कसरी लडिरहेको हुँला । यो सबै चिज तपाईंहरूले देख्नुहुन्न ? तपाईंहरूको आगमनले म खुसी हुने ठाउँ कहाँ छ ? तपाईंहरू त म एसी हालेर बसेको छु कि छैन भनेर चेक गर्न आउनुभएको होला । यो कोठा हेर्नुस्, यो ट्वाइलेट हेर्नुस्, यो बेड हेर्नुस् । यी पंखाहरू हेर्नुस् । मलाई हेर्नुस् । म तपाईंहरूलाई चुनौती दिन्छु । यो कोठाभित्र तपाईंहरूकेवल दुई घण्टा बसेर देखाउनुस् ।
तर, मैले सहेको छु र सहन्छु । किनकि म मेरो व्यक्तिगत मुद्दाका लागि होइन, आउने पुस्ताका लागि लडिरहेको छु, म लड्छु । एउटा राजनीतिक प्रणालीका रूपमा ममाथि भएको यो अत्याचार र अत्याचारको शृंखला नदेख्ने, देखे पनि रिपोर्टमा नलेख्ने र लेखे पनि प्रभाव नपार्ने मानव अधिकार आयोग, आज मलाई हेर्न आयो भनेर म कसरी खुसी हुनु ?
आयोग अधिकारीहरू स्तब्ध भए र उनीहरूले के गरेर समय बिताउनुहुन्छ भनेर सोधे । रविले पढिरहेको पुस्तकहरू देखाए, मुलुकको उन्नतिका लागि योजनाहरू बनाउँदैछु भनी सुनाए । त्यसपछि उनीहरूले खानपिनबारे सोधे । रविले खानपिन ठिकै छ भने । परिवार र पार्टीका नेताहरू भेट्नुहुन्छ भनेर पनि सोधे । रविले भने– एकदमै कठिन छ, काठमाडौंदेखि यहाँ आउन सहज छैन । कानुन व्यवसायीहरू काठमाडौंमा छन । पार्टीका नेताहरू काठमाडौंमा छन् । श्रीमतीले घर चलाउनुपर्छ, धेरै आइरहन सम्भव हुँदैन, खर्चिलो उत्तिकै हुन्छ । त्यसैले काठमाडौं जान खोजेको थिएँ, दिएनन् । ठिकै छ, सहेर बसेको छु, सहेरै बस्छु ।
त्यसपछि आयोग सदस्य थापाले तपाईंका मूलभूत तीन समस्या के–के हुन् भनेर सोधिन् । रविले जवाफ दिए– मेरा कुराहरू यिनै हुन्, यसमा तपाईंहरूलाई कुन कुरा मूलभूत लाग्छ निर्णय गर्नुहोस् । मेरो मुख्य चुनौती भनेको मेरो मानसिक र शारीरिक स्वास्थ्य ठिक राख्ने हो, त्यसमा म दृढ छु । म यो राज्यसँग आँखामा आँखा जुधाएर लड्छु, म अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूमा जान्छु । सहकारीपीडितहरूले न्याय पाऊन् भनेर मैले बाटो खोल्ने गरी अदालतमा निवेदन दिएको छु । न्यायालयप्रति मलाई अझै पनि आशा छ । यो ठाउँमा अत्यधिक गर्मी हुन्छ । जाग्राम भएका वेला त म जसोतसो प्राण धान्दछु । तर, निदाएको वेलामा निदाएको निदाइ भइन्छ कि भनेर थोरै पिर लाग्छ । प्राण नै नरहे कसरी लडुँला ? प्राणसम्म धान्न सकेँ भने म सबैसँग लड्छु । तपाईंहरूसँग म थोरै आक्रोशित भएँ, मेरो अवस्था र पीडालाई बुझेर अन्यथा नलिदिनुहोला है । व्यक्तिका रूपमा तपाईंहरूप्रति मेरो गुनासो छैन । तर, संस्थाका रूपमा मानव अधिकार आयोग निरीह छ । प्राणविहीन छ । यसलाई जोगाउनुस्, बचाउनुस् । म त आवाज भएको मान्छे फेरि पनि लडौँला, अरू आवाजविहीनहरूका लागि तपाईंहरू उभिनुस्, आममानिसका लागि मानव अधिकार आयोग छ भन्ने महसुस हुनेगरी काम गरिदिनुस्। मेरो चिन्ता गर्नुपर्दैन ।
फेरि थापाले सोधिन्– तपाईं गृहमन्त्री हुँदा कारागारहरू हेर्नुभएन, बिजोग छ त । रविले भने– देखेको थिएँ, त्यही भएर खुला कारागारको नीति नै ल्याएको थिएँ । सुधारका कामहरू सुरु गर्दै थिएँ । कैदीहरूलाई उत्पादन र विकास निर्माणमा जोड्ने योजनासहित मेरो कार्यकालमा नीति कार्यक्रम आएको छ। अहिले के भयो थाहा छैन ।
जाँदाजाँदै रविले सुझाए, ‘जागिरभन्दा देश र समाज ठुलो हो । यसलाई जोगाउनुहोला । मानव अधिकार आयोगसँग सरकार डराउनुपर्ने हो, तर डराएको छैन । किन होला समीक्षा गर्नुहोस्। फेरि पनि मैले केही वचन लगाएको रहेछु भने अन्यथा नलिनुहोला, व्यक्तिगत रूपमा तपाईंहरूप्रति मेरो उच्च सम्मान छ। माननीय सदस्य म्याडमप्रति म विशेष आभारी छु। तपाईंको नाम धेरै सुनेको हुनाले मेरो अनुरोध छ– आयोगको गरिमा जोगाइदिनुहोस् । मजस्ता नेता आउँछन्, जान्छन्, तर आयोग गम्भीर हुनुपर्छ । यसको गरिमा र साख बचाइराख्नुपर्छ। मेरो चिन्ता नगर्नुहोला,आयोगको चिन्ता गर्नुहोला । आइदिनुभएकोमा धन्यवाद ! अब मेरो ‘भिआइपी’ जेलबारे जे हो त्यही जस्ताको त्यस्तै आमनागरिकलाई बताइदिनुहोला ।’
रविको कोठाबाट निस्किएपछि मानव अधिकारवादीको टोलीले कारागार प्रशासनसँग छलफल गर्यो । टोलीको नेतृत्व गरेकी आयोग सदस्य थापाले रविको झ्यालमा ठोकिएको प्लाइवुड तत्काल हटाउन, हिँडडुल गर्न र अन्य सहजताको वातावरण बनाउन निर्देशन दिइन् । कारागारका समग्र समस्या सुधार्न पनि निर्देशन दिइन् । करिब एक घण्टामाअर्थात् १२ बज्नुभन्दा केही मिनेटअगाडि टोली कारागारबाट निस्कियो ।
झ्याल टालिएको कोठा रहेछ, कहिलेकाहीँ स्वास्थ्य जाँच गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो : लिली थापा, सदस्य, मानव अधिकार आयोग
अन्तर्वार्ता
भैरहवा कारागार भिजिट गर्नुभयो, वस्तुस्थिति के पाउनुभयो ?
भौतिक संरचना एकदमै जर्जर रहेछ । २५० क्षमताको कारागारमा ६५० भन्दा बढी कैदीबन्दी राखेको पायौँ । एउटै हलमा ५० भन्दा बढी मानिस सुतेका देख्यौँ । खुट्टै पसार्न नपाउने अवस्था पनि भेट्यौँ । ६५० जनालाई जम्मा १६ वटा शौचालय रहेछन् । शौचालयको अवस्था एकदमै नाजुक देख्यौँ । कैदीबन्दीलाई स्वच्छ हावापानी र घामबाट वञ्चित गरेको पायौँ । यो धेरै नै ध्यानाकर्षण गर्नुपर्ने विषय हो । कारागार सुधारगृह हो । दोषीलाई काउन्सिलिङ गरेर समाजमा पुनस्र्थापित गर्नुपर्ने हो, तर त्यो भेटिएन । युवाहरूको भविष्य चिन्ताजनक छ । उनीहरूको सिपलाई सुधारको दिशामा प्रयोग गरिएको छैन । अर्काे एकदमै सीमित स्रोत–साधन रहेछ ।
रास्वपा सभापति रवि लामिछानेलाई पनि भेट्नुभयो, उहाँको पहिलो प्रतिक्रिया के थियो ?
रवि लामिछानेजीसँग हामीले झन्डै आधा घण्टा नै उहाँको कोठैभित्र गएर भेटघाट गर्यौँ, उहाँका सबै कुरा सुन्यौँ । उहाँका अनुसार कोठाबाहिर हिँडडुल गर्न बन्देज गरिएको रहेछ । जेलरले सुरक्षाको कारणले भन्नुभएको रहेछ । त्यो कोठामै सय दिनभन्दा बढी नै बन्द राखिएको छ । कहिलेकाहीँ मेडिकल चेकअप गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो । दोस्रो, उहाँलाई राखेको कोठाको शौचालयको अवस्था दयनीय छ, यसमा उहाँको चासो छ । त्यो कोठैभित्र हाफ ट्वाइलेट छ । खाना खाँदासमेत दुर्गन्ध भोग्ने खालको छ ।
उहाँले ‘यहाँ विभिन्न कारणले मलाई सुरक्षा छैन’ भन्नुभयो । बस्ने ठाउँमा सर्प पनि आउन सक्ने रहेछ । एक्लै कोठा छ । हरेक कोणबाट सुरक्षा चुनौती देखिन्छ । यो बोर्डर एरिया हो । ६५० जना सबै कैदीबन्दी एकै ठाउँमा राखिएको छ । सुरक्षाका कारण मलाई यो ठाउँ ठिक छैन भनेर स्थानान्तरण माग्नुभएको रहेछ । ‘अदालतले जेठमा अनुमति दिसकेको अवस्थामा पनि यो लागू गरिएन, यो ममाथि प्रतिशोध हो’ भन्ने उहाँको भनाइ थियो । सुरक्षाको कारण देखाएर उहाँलाई हावा नै नआउने झ्यालै नभएको कोठामा राखेको पाएपछि हामीले कैदीबन्दीको सुरक्षा जिम्मेवारी राज्यले लिनुपर्छ भन्यौँ ।
उहाँ कस्तो पोसाकमा हुनुहुन्थ्यो ?
क्याजुअलमा हुनुहुन्थ्यो । ‘असाध्यै गर्मी छ, आज त तपाईंहरू आउने दिनमा मौसम अलि राम्रो भयो, नत्र मेरो लुगा निथुक्कै भिज्छ, कोठामा दुइटा पंखा छ’ भन्नुभयो । अनि यो लुगा सुकाउने ठाउँ भनेर देखाउनुभयो । कोठामा हावा नआउँदा नसुकेको रुमालको गन्ध पनि सुगाउनुभयो । नसुकेको लुगाहरू लगाउनुपर्छ भनेर देखाउनुभयो । मेरो मानव अधिकारको अवस्था हेर्नुस् भन्नुभयो । अरू बन्दीको के होला भनेर प्रश्न गर्नुभयो । हामीले प्रश्न पनि राख्यौँ– तपाईं गृहमन्त्री हुँदा के सुधार गर्नुभयो ? उहाँले ‘मैले पनि सकेको कोसिस त गर्या हो’ भन्नुभयो ।
अँध्यारो र साँगुरो कोठा अनि एसी र कुलर जोडिएको भन्ने कुरा के रहेछ ?
कोठा पर्दाले बिचमा बारेको छ । एकातिर सुत्ने ठाँउ छ, अर्कोतिर ट्वाइलेट छ । एसी, कुलर केही पनि छैन । दुइटा पंखा रहेछन् । ‘सामान्यत: एउटा पंखा चलाउँछु, अति नै गर्मी हुँदा दुइटा चलाउँछु’ भन्नुभयो । उहाँले पढ्ने–लेख्ने गरेर दिन बिताउँछु भन्नुभयो । र खाना पनि त्यही ल्याइदिने रहेछन् । त्यहीँ खानुहुँदो रहेछ । तर, आधा मात्र बारेको खुला शौचालय त्यही कोठाभित्र हुँदा दुर्गन्ध रहेछ । उहाँलाई नुहाउन पानीको समस्या रहेछ । ट्यांकीको पानी असाध्यै तातो आउने रहेछ । नुहाउन पानी बाहिरबाट ल्याउनुपर्ने रहेछ । लुगा सबै उहाँले त्यही मेचमा सुकाइरहनुभएको थियो ।
हिँडडुल गर्न रविले मात्रै नपाएको कि अरूले पनि ?
हामीले भिजिट गर्दा केही कैदीबन्दीहरू बाहिर हिँडडुल गरेर अलिकति घाम ताप्ने, बाहिर क्यारेमबोर्ड खेलिरहेको पायौँ । अब रविजी भने सय दिनदेखि यही कोठामा मात्रै बसिरहनुभएको छ । अब हामीले कारागार प्रशासन प्रमुखसँग कुरा गर्दा उहाँले सुरक्षाको कारणले रविजीलाई बाहिर नल्याएको भन्नुभयो । भौतिक संरचना, कारागारवरिपरि ठुल्ठुला व्यक्तिगत घर भएको हुनाले पनि उहाँलाई सुरक्षा चुनौती भएर भित्र राखेको कारागार प्रमुखको भनाइ थियो ।
झ्यालहरू बन्द भएको कुरा के हो ?
झ्यालहरू बन्द गरेको एकदमै अमानवीय लाग्यो । कारागार प्रशासनलाई यो झ्याल खोल्दिनुस्, तपाईंहरूले जसरी पनि सुरक्षा दिनुपर्छ, झ्यालचाहिँ खोल्दिनुस् भनेका छौँ । उहाँहरूले दुई–तीन दिनमै म्यानेज गर्छाैँ भन्नुभएको छ । यसमा हामी फलोअप गर्छौँ ।
कोठामा खाट पनि सानो भएको, खुट्टा तान्दा पनि नअट्ने खालको भन्ने के रहेछ ?
रवि लामिछानेजी अलि लामो हुनुहुन्छ । अनि छोटो खाट रै’छ । रविजीले भन्नुहुन्थ्यो कि मेरो खुट्टा पनि पुग्दैन खाटमा । त्यो देखियो पनि । यो राज्यको दोष हो । सरकारले कुनै पनि कारागारलाई व्यवस्थित गर्नुपर्छ । बन्दी ल्याएर राखेपछि उसको मानवीय पक्ष हेर्नुपर्छ । उनीहरू ठुलै सिरियस क्रिमिनल होस् अथवा अलिअलि होस् त्यो बन्दीहरूलाई आधारभूत अधिकार दिनुपर्छ । खाना, सुत्न पाउने, राम्रोसँग हावा आउने किसिमको व्यवस्था राज्यले गर्नुपर्छ । यो हामीले एकदमै उठाउनुपर्ने विषय हो । खुट्टा पसारेर सुत्न त पाउनुपर्यो नि !
पत्रपत्रिका पढ्न नदिएको कुरा के रहेछ ?
रविजीले पत्रपत्रिका पढ्न नपाएको भन्नुभयो । रेडियो मेरो भर हो भन्नुहुन्थ्यो । साथीभाइले कहिलेकाहीँ किताबहरू ल्याइदिनुहुन्छ, त्यही पढ्छु भन्नुभयो । कारागारमा लाइब्रेरी रहेछ । तर, रविजी बाहिर निस्किन नपाएकाले अरू कैदीबन्दीसरह किताब पढ्न पाउने अवस्था रहेनछ । भैरहवा कारागारमा पत्रपत्रिका आउँदो रहेनछ । यो पनि एउटा विडम्बना हो । हामीले कारागार प्रमुखलाई सोध्दा पत्रिका लिएकै छैन भन्नुभयो ।
रवि लामिछानेको गुनासो के छ ?
उहाँको मुख्य त कोठाभित्र बन्द गरियो, बाहिर हिँडडुलसम्म दिइएन भन्ने छ । मलाई पनि त घाम चाहिन्छ, शुद्ध हावा चाहिन्छ, त्यो पाइएन भन्ने कुरा थियो । दोस्रो स्थानान्तरणको कुरा थियो । अदालतको अनुमति हुँदाहुँदै पनि मलाई यहाँबाट अन्त सारिएन । यहाँ सुरक्षा चुनौती छ, बोर्डर एरिया हो, मलाई कहिले सर्पको चुनौती, कहिले सुरक्षाको चुनौतीमा राख्न मिल्दैन भन्ने कुरा थियो ।
बिगोबराबरको रकम तिर्छु भन्दा पनि छाडिएन रविलाई
आफ्नो भागमा पर्ने बिगोबराबर बैंक जमानत बुझाउँदासमेत रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागमा परेको बिगोबराबर बैंक जमानत बुझाउँदै रविले मुलुकी कार्यविधि फौजदारी संहिता, २०७४ को दफा ७१ बमोजिम थुनामुक्त गरिदिन १९ साउनमा निवेदन दिएका थिए । तर, न्यायाधीश नारायण सापकोटाको सोमबारको इजलासले उनको प्रस्ताव विचारणीय रहेको उल्लेख गर्दै थुनामुक्त भने गर्न नमिल्ने आदेश गरेको हो ।
‘यी प्रतिवादीले रु. २,७४,८४,०००/– को बैँक जमानत पेश गरी तारेखमा रहन पाउँ भनि निवदन गरको विषय विचारणीय रहेपनि...निजलाई निवदन माग बमोजिमको बैँक ग्यारेन्टी लिई तारेखमा राख्न मिल्ने देखिएन, कानुन बमोजिम गर्नु,’ आदेशमा भनिएको छ ।
यसअघि गत १३ माघमा यही अदालतले लामिछानेलाई पुर्पक्षका लागि एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उक्त आदेशमा चित्त नबुझेको भन्दै वादी र प्रतिवादी दुवै पक्ष माथिल्लो अदालत गएकामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले २२ चैतमा रविलाई थुनामै राख्न आदेश गरेको थियो । लामिछाने पक्ष त्यसविरुद्ध फेरि सर्वोच्च अदालत गएकामा ९ जेठमा उच्चकै आदेश सदर गरेको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ मा ‘अदालतले धरौटी, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने’ व्यवस्था छ । त्यस्तै, दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि जमानतमा राख्न सकिने व्यवस्था छ ।
‘मुद्दा प्रभावित पार्न’ कांग्रेसको किसान महासंघका प्रवक्ता रावलले दिए उजुरी, गृहमन्त्री लेखकको योजनामा गृहमै बनेको थियो ड्राफ्ट
रवि लामिछानेले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै रुपन्देही अदालतमा दिएको निवेदनविरुद्ध कांग्रेस भ्रातृ संगठन नेपाल किसान महासंघका प्रवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषद्मा उजुरी दिएका छन् । गृहमन्त्री रमेश लेखकको योजनामा तीन–चार दिनअघि गृह मन्त्रालयमै उजुरीको ड्राफ्ट बनाइएको कांग्रैसकै एक नेताले बताए । सोमबार बिहान मस्यौदालाई अन्तिम रूप दिएर दर्ता गरिएको स्रोतको दाबी छ । उजुरीकर्ता रावल अधिवक्ता पनि हुन् ।
रविले १९ साउनमा अदालतमा निवेदन दिएपछि उजुरीको योजना बनेको स्रोतको भनाइ छ । रावलले कसैको योजनामा उजुरी दिएको दाबी गरे पनि तीन दिनअघि गृह मन्त्रालय गएको स्वीकार गरेका छन् । ‘म तीन दिनअघि गृह मन्त्रालय गएको थिएँ । त्यहाँको कानुन शाखाबाहेक अन्त कहीँ गएको छैन,’ उनको दाबी छ, ‘कसैको सपोर्टमा उजुरी दिएको होइन ।’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको ०७९ को चुनावी सरकारमा रावल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत थिए । उनी देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुराका बासिन्दा हुन् ।