
मितेरी सहकारीकी बचतकर्ता कमला गुरुङले जानकारीसमेत नदिई आफ्नो खाताबाट धनराज गुरुङले सिधै ५० लाख लगेको र हारगुहार गर्दा पनि ३० लाख फिर्ता नगरेको बयान सिआइबीलाई दिएकी थिइन् । सहकारीकी महाप्रबन्धकसमेत रहेकी धनराजकी तत्कालीन पत्नी ज्योति गुरुङसँगको मिलेमतोमा आफ्नो रकम लगिएको उनको भनाइ थियो । यसबाट हिनामिनामा धनराजको प्रत्यक्ष संलग्नता देखिएको थियो । प्रहरीले नै सूचना चुहाएपछि धनराजले गत २३ वैशाख ०८२ मा कमलालाई चेकमार्फत ३० लाख दिए । त्यसपछि प्रहरीकै सहयोगमा कमलालाई ‘धनराजसँग कुनै लेनदेन छैन’ भनेर अर्काे कागज गराएर धनराजलाई जोगाइएको थियो ।
ललितपुरस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङलाई उन्मुक्ति दिँदै आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिएको छ । जबकि, सिआइबीको अनुसन्धानका क्रममा सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्नता खुलेपछि धनराजलाई बचतकर्ताको ३० लाख फिर्ता गर्न लगाएर उन्मुक्ति दिने प्रपञ्च रचिएको खुलेको छ । सहकारीका अध्यक्षसहित आठविरुद्ध भने साढे तीन करोडदेखि ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजारसम्म बिगो दाबी गरिएको छ ।
मितेरीकी बचतकर्ता कमला गुरुङले जानकारी नै नदिई आफ्नो खाताबाट धनराजले सिधै ५० लाख लगेको र हारगुहार गर्दा पनि ३० लाख फिर्ता नगरेको बयान सिआइबीलाई दिएकी थिइन् । सहकारीकी महाप्रबन्धकसमेत रहेकी धनराजकी तत्कालीन पत्नी ज्योति गुरुङसँगको मिलेमतोमा आफ्नो रकम लगिएको उनको भनाइ थियो । यसबाट रकम हिनामिनामा धनराजको पनि प्रत्यक्ष संलग्नता खुलेको थियो ।
तर, प्रहरीबाट त्यो सूचना धनराजसम्म पुग्यो । त्यसपछि धनराजले गत २३ वैशाख ०८२ मा चेकमार्फत ३० लाख कमलालाई रकम भुक्तानी गरे । जब कि प्रहरीले आठ महिनाअघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । सुरुमा कमलाले हिनामिनामा धनराजको पनि संलग्नता खुलाएकोमा पैसा फिर्ता पाएपछि ‘धनराजसँग कुनै लेनदेन छैन’ भनेर पछि प्रहरीमा अर्को कागज गरेको आइतबार जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।
उनले सुरुमा सिआइबीमा गरेको घटना विवरण कागजमा भनेकी छिन्, ‘मेरो मुद्दती खातामा रहेको एक करोडमा मेरो उल्लेखित ऋणको हिसाब मिलान गरी बाँकी रहेको ज्योति गुरुङको श्रीमान् धनराज गुरुङले विभिन्न मितिमा पटकपटक गरी जम्मा पचास लाख रुपैयाँ निकालेर लगेको कुरा लेखापाल विजय राईले भनेपछि थाहा पाएँ ।
सो मुद्दती रकम पचास लाख रुपैयाँमध्ये ज्योति गुरुङले निजलाई रकम आवश्यक परेको भनी तीस लाख रुपैयाँ निजको श्रीमान् धनराज गुरुङलाई दिन हुन भन्ने व्यहोराको निवेदन मलाई दस्तखत गर्न लगाएकी थिइन् र पछि यस सम्बन्धमा के भयो भनी सोध्दा सहकारी संस्थाले रकम नदिएको हुँदा उक्त निवेदनको काम भएन, च्यातेर फालेको भनेकी थिइन् । पछि म ज्योति गुरुङसँग सिंगापुरमा हुँदा ज्योति गुरुङले रकम चाहिएकोले मेरो मुद्दती खातामा भएको रकमबाट बीस लाख रुपैयाँ सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ज्योति गुरुङको श्रीमान् धनराज गुरुङलाई दिनु भनेको थिएँ । यसरी धनराज गुरुङले मेरो मुद्दती खातामा रहेको पचास लाख रुपैयाँ सबै निकालेको कुरा सहकारी संस्थाका अध्यक्षले भनेपछि थाहा पाएँ ।’
कमलाको यो विवरणका आधारमा धनराज आफैँले सहकारीबाट गैरकानुनी रूपमा ५० लाख रुपैयाँ लगेको देखिन्छ । यसबाट उनीमाथि मुद्दा चल्ने आधार बनेपछि धनराजले ३० लाख रुपैयाँ कमलालाई दिएका थिए । त्यसपछि धनराजलाई सहज हुने गरी प्रहरीले कमलासँग अर्को घटना विवरण कागज गराउँछ । जसमा उनले भनेकी छिन्, ‘मिति २०८२÷१÷२३ गते धनराज गुरुङबाट तीस लाख चेकमार्फत मेरो खातामा जम्मा भएको ठिक साँचो हो ।
उल्लेखित जम्मा रकम पचास लाख धनराज गुरुङले मितेरी बचत तथा ऋण सहकारी संस्थाको मेरो नामको मुद्दती खाताबाट सापट लगेको पचास लाख रुपैयाँ रकम फिर्तास्वरूप जम्मा गरेका रहेछन् । मैले बैंक खाता धेरै नचलाउने र बैंकमा जम्मा हुने रकम पनि सहकारीबाट ब्याजस्वरूप आयो होला भनी हेक्का गरिनँ, हाल आएर मेरो बैंकको स्टेटमेन्ट हेर्दा धनराज गुरुङले लिएको ५० लाख रकम सम्पूर्ण मेरै बैंक खातामा जम्मा गरिसकेका रहेछन् । अब धनराज गुरुङसँग मेरो अन्य कुनै लेनदेन÷कारोबार छैन, हिसाब–किताबको यकिन विवरण थाहा नभएकोले मैले मिति २०८१/०७/१२ गते गरेको घटना विवरण कागजमा उल्लेख गरेको थिएँ । धनराज गुरुङको विरुद्ध लेख्न–लेखाउन कोही–कसैको उक्साहटमा परेको छैन । मैले धनराज गुरुङसँग प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम प्राप्त गरिसकेको छु ।’
गत वर्ष भदौमा नै सिआइबीले मितेरी सहकारीको अनुसन्धान थालेको थियो । अनुसन्धान थालेको आठ महिनापछि धनराजले त्यसरी पैसा फिर्ता गरेको देखिन्छ । पैसा फिर्ता गर्ने वातावरण बनाउने र फिर्ता गरेपछि फेरि पीडितसँग पहिलेको भन्दा फरक कागज गराएर सिआइबीले धनराजलाई सघाएको देखिने जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन् ।
सहकारीका सञ्चालकहरूले धनराजले अपचलन भएको पैसा दिर्ने मौखिम प्रतिबद्धता जनाएका थिए । सञ्चालक समिति सदस्य हरिबहादुर रोकाले बयानमा भनेका छन्, ‘ज्योति गुरुङ र धनराज गुरुङ भई मिति २०७६/०९/१६ गते मगर समाज सेवा केन्द्र, ललितपुरमा बैठक बसेका थियौँ । सञ्चालक समितिका सदस्यहरू कर्णबहादुर रोका, मनकुमारी गुरुङ र कौशिला गुरुङ भने सो बैठकमा उपस्थित थिएनन् ।
बैठकमा कुराकानी गर्दा निज ज्योति गुरुङले सहकारी संस्थामा बचतकर्ताहरूको व्यक्तिगत प्रयोजनका लागि अपचलन गरेको रकम जसरी पनि फिर्ता गर्ने साथै धनराज गुरुङले छोरा अस्ट्रेलियामा इन्जिनियरिङ अध्ययनरत रहेकाले छोराले जागिर सुरु गरेपछि सो रकम सहकारी संस्थामा फिर्ता गरिदिने मौखिक प्रतिबद्धता गरेको हुँदा हामीले धनराज गुरुङ र ज्योति गुरुङलाई सहकारी संस्थाको अपचलन भएको सम्पूर्ण रकम किस्ता–किस्तामा दिने भनेपछि कति वर्षमा के–कति किस्तामा फिर्ता गरिदिने हो, सो सम्पूर्ण खुलाई कागज गरिदिनु भनेपछि निजहरूले स्वीकार गरेकोमा सो कागज गराउने जिम्मेवारी सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङलाई दिइएकोमा यसको तीन दिनपछि मिति २०७६/०९/१८ गतेदेखि ज्योति गुरुङ सहकारी संस्थाको कार्यालयमा गयल हाजिर भई फरार भएकी थिइन् ।
पछि धनराज गुरुङले अध्यक्ष कुम्भराज गुरुङलाई भेटी ज्योति गुरुङ र निज धनराज गुरुङको सम्बन्धविच्छेद भइसकेको भनी अदालतको मिलापत्रको कागज देखाई सहकारी संस्थामा अपचलन भएको रकम तिर्नुपर्ने दायित्व आफ्नो नरहेको भनी भनेका रहेछन् ।’
यस्तै, रोकाले बयानमा थपेका छन्, ‘धनराज गुरुङको छोराको विवाहमा ज्योति गुरुङसमेत नेपालमा आई सहभागी भएकी र सम्बन्धविच्छेद भएर पनि सँगै बस्ने गरेको कुरा सुनेको हुँ । ज्योति गुरुङ थाइल्यान्डबाट फर्केर गौशालास्थित होटेलमा निजको श्रीमान् धनराज गुरुङसँग बसेको भन्ने कुरा ज्योतिबहादुर भण्डारीले बोधविक्रम थापाको ह्वाट्सएपमा पठाएको भिडियो म्यासेजबाट सुनेको थिएँ । धनराज गुरुङ नेपाली कांग्रेस, नेविसंघको अमेरिकामा भएको कुनै कार्यक्रममा जाँदा निजसँगै श्रीमती ज्योति गुरुङलाई पनि अमेरिकामा लगेको र सो कार्यक्रमबाट फर्केपछि पुनः ज्योति गुरुङ अमेरिका गएको र हाल अमेरिकामा नै रहेको भन्ने कुरा सुनेको थिएँ ।’
सहकारीका अर्का सञ्चालक मोती आलेमगरका अनुसार रकम फिर्ता गर्छु भनेर धनराज रोएका थिए । आलेमगरको बयानमा छ, ‘छलफल हुँदा धनराज गुरुङले सहकारीको रकम मेरी श्रीमतीले अपचलन गरेको कुरा आज यसै बैठकमा थाहा पाएँ, मेरी श्रीमती महाप्रबन्धक ज्योति गुरुङले अपचलन गरेको सम्पूर्ण रकम मेरो छोरा अस्ट्रेलियामा इन्जिनियरिङ अध्ययनरत रहेको र छोराले जागिर सुरु गरेपछि सो रकम सहकारी संस्थामा फिर्ता गरिदिने भनी धनराज गुरुङले मौखिक प्रतिबद्धता गरेका थिए ।
बैठकमा समितिसँग धनराज गुरुङ रोइकराइ गरी मलाई केही समय दिनुस्, सहकारीको अपचलन भएको रकम छोराले अस्ट्रेलियामा काम गर्न सुरु गरेपछि किस्ता–किस्ता तिर्छु भनी प्रतिबद्धता व्यक्त गरेका थिए । धनराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङले बैठकमा प्रतिबद्धता गरेका कुरा हामी अन्य सञ्चालक समिति सदस्यहरूले लिखितम् अभिलेख राख्न सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई भनेका थियौँ, तर अध्यक्षले धनराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङले बैठकमा प्रतिबद्धता गरेका कुरा लिखितम् अभिलेख किन नराखेका हुन् सोबारे मलाई थाहा छैन ।’
यस्तै, उनले बयानमा भनेका छन्, ‘महाप्रबन्धक ज्योति गुरुङ सम्पर्कविहीन भएपछि धनराज गुरुङ ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरेको कागजसहित हाम्रो मितेरी सहकारी संस्थामा उपस्थित हुनुभएको थियो, धनराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङको सम्बन्धविच्छेदको कागजात हेर्दा निजहरूले मगर समाज सेवा केन्द्र, ललितपुरमा बैठक बस्नुअगाडि नै निजहरूले सम्मानित ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएको देखिन्छ । तर, सो सम्बन्धविच्छेद गर्न लागेकोबारे बैठकमा केही कुरा नराखी सम्पूर्ण अपचलन भएको रकम आफूहरू मिलेर तिर्ने प्रतिबद्धता गरेका थिए, तर सम्बन्धविच्छेद भएपछि निज धनराज गुरुङले मेरो र ज्योति गुरुङको केही सम्बन्ध नरहेको र ज्योति गुरुङले अपचलन गरेको रकम आफूले नतिर्ने कुरा अध्यक्षसमक्ष भन्नुभएको थियो ।
धनराज गुरुङले छोराको विवाह मन्त्री क्वार्टरमा गरेका, छोराको विवाहमा निज प्रतिवादी ज्योति गुरुङ पनि सहभागी भएको र छोराको विवाहपश्चात् छोरा, बुहारी र छोरीलाई धनराज गुरुङले अस्ट्रेलिया पठाएको कुरा मैले समाचार÷साथीभाइबाट थाहा पाएको हुँ ।’
यस्तै, जाहेरीकर्ता बोधविक्रम थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा दिएको जाहेरीमा भनेका छन्, ‘२०७६ पुस १६ बिहान ९ बजे संस्थाका पदाधिकारी र प्रतिवादी ज्योति गुरुङलाई उहाँको श्रीमान् धनराज गुरुङसहित नेपाल मगर समाज सेवा केन्द्रको भवन, रानीबुमा।।।।।।।।। आकस्मिक बैठक राख्यौँ । सो समयमा प्रतिवादी ज्योति गुरुङले आफूले गरेको कसुर मौखिक रूपमा स्वीकार गरेपछि निजको श्रीमान् धनराज गुरुङले खेद प्रकट गर्दै अस्ट्रेलियामा इन्जिनियर अध्ययनरत आफ्नो छोराको कमाइ सुरु भएपछि यथाशीघ्र भुक्तानी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’ तर, बैठकमा भएको छलफल र धनराजले दिएको प्रतिबद्धता माइन्युटमा भने उल्लेख गरिएको थिएन ।
सहकारीमा ठगी भएको रकम चुक्ता गर्ने प्रतिबद्धता दिएकै कारण बोधविक्रमले बागमती प्रदेशस्थित सहकारी रजिस्ट्रारको कार्यालयमा समेत धनराजविरुद्ध जाहेरी दिएका थिए । तर, रजिस्ट्रारको कार्यालयले धनराजको नाम काटेर अनुसन्धान गर्न सिआइबीमा फाइल पठाएको थियो । यहीँबाट धनराजलाई उन्मुक्ति दिने प्रपञ्चको सुरुवात भएको देखिन्छ ।
चौतर्फी दबाबपछि सिआइबीले धनराजलाई कार्यालयमा नै उपस्थित गराएर दुईपटक बयान लिएको थियो । तर, बयान औपचारिकतामा मात्रै सीमित बनेको अदालतमा दर्ता अभियोग पत्रले पुष्टि गरेको छ । किनकि अभियोग पत्रमा उल्लेख भएअनुसार धनराज स्वयंले प्रेस विज्ञप्तिमार्फत स्वीकार गरेको तथ्य सम्बन्धमा समेत सोधपुछ गरिएको छैन ।
धनराजले विज्ञप्तिमार्फत पूर्वपत्नी ज्योति गुरुङले सहकारीबाट तीन करोड रुपैयाँ लिएको र उक्त रकम ज्योतिबहादुर भण्डारीलाई दिएको तथा सोही रकम आफूले तिर्नुपरेको बताएका थिए । प्रहरी बयानमा धनराजले भनेका छन्, ‘ज्योतिले विगतमा मितेरी सहकारीबाट तीन करोड रुपैयाँ झिकेर ज्योतिबहादुरलाई मिटरब्याजमा ऋण दिएकी रहिछिन् । ऋण चुक्ता नभएपछि सहकारीले मलाई कार्यालय बोलाएर तिर्न भन्यो । अरूले लिएको ऋण तिर्दिनँ, बरु ऋण उठाउन सहयोग गरौँला, भन्नुपर्ने ठाउँमा भनौँला भनेर घर फर्किएँ । सोही विषयमा घरमा श्रीमतीसँग झगडा भयो । उनी माइत हिँडिन् । त्यसको एक महिनापछि जिल्ला अदालत पाटनमा हाम्रो सम्बन्धविच्छेद भयो । २९ फागुनमा ०७६ मा सम्बन्धविच्छेद भएको थियो । त्यसपछि उनीसँग भेट भएको छैन ।’
तर, धनराजले ज्योतिसँग सम्बन्धविच्छेदपछि ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै १२ लाख रुपैयाँ ऋण लिएका थिए । धनराजको ऋणमा ज्योति गुरुङले ‘हकवाला’का रूपमा ल्याप्चे लगाएकी छिन् । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराजले समेत उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बयान दिएका थिए । कागजी सम्बन्धविच्छेद सम्बन्धमा सिआइबीले धनराजसँग कुनै प्रश्न गरेको देखिन्न ।
तर, विज्ञप्तिमा धनराजले भनेका छन्, ‘घर बनाउने क्रममा मैले सहकारीबाट पहिले नै ऋण लिएको थिएँ । त्यसवेला ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको थिएन । हकवाला उनी नै थिइन् । सम्बन्धविच्छेदपछि पुनः १२ लाख रुपैयाँ ऋण थप्नुपर्ने भयो । ३ फागुन ०७७ मा सहकारी गएर ऋणका लागि निवेदन दिएँ । कागजातबारे सोधपुछ गर्दा पहिलेकैले हुने सहकारीका कर्मचारीले बताए । होला त भनेर हस्ताक्षर गरेँ । त्यसो गर्नु मेरो भूल भयो ।’
यति मात्र होइन, धनराज ४ मंसिर ०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा– २ बाट विजयी भएका हुन् । उम्मेदवारी दर्ताको फाराम भर्दासमेत धनराजले ज्योतिलाई श्रीमतीकै रूपमा उल्लेख गरेका छन् । धनराजले विज्ञप्तिमा ‘उम्मेदवारी दर्ताको फाराम साथीहरूले भरिदिएको, ज्योति र मबिच सम्बन्धविच्छेद भइसकेको जानकारी उनीहरूलाई नभएको हुँदा फाराममा मेरो श्रीमती ज्योति नै हो भनी भूलवश उल्लेख गरेको’ दाबी गरेका छन् । प्रहरीले धनराजसँग यस विषयमा कुनै प्रश्न नगरेको अभियोग पत्रले देखाएको छ ।
धनराजले सार्वजनिक रूपमै भनेका थिए, ‘घर धितो राखी मितेरीबाट ऋण लिएका थियौँ । ज्योतिसँग सम्बन्धविच्छेद हुँदा उक्त ऋण मैले तिर्नुपर्ने भनियो । म सहमत भएँ । ४ चैत ०७८ मा सहकारीले धितो राखेको घर एक करोड ८५ लाखमा बिक्री ग¥यो । सबै रकम सहकारीले लियो । त्यतिले पनि पुगेन भनेर थप ८४ लाख रुपैयाँ माग ग¥यो । अन्याय भयो भन्दै मैले तिर्न अस्वीकार गरेँ, तर सहकारीले दबाब दिइरह्यो । केही सिप नचलेपछि मैले मेरो सम्धी मीनबहादुर गुरुङसँग ऋण लिएँ । सोही रकम लगेर तिरेँ । यसमा मेरो के गल्ती भो ? ’
धनराजले सहकारीबाट लिएको ऋण घर बेचेर चुक्ता गरेको बताउँदै आएका छन् । तर, उनले कानुनमन्त्री हुँदा सहकारीको ऋण तिरेको देखिएको थियो । सिआइबीले खातामा जम्मा भएको रकमको स्रोतबारे धनराजलाई सहज हुने गरी प्रश्न गरेको छ । बयानमा धनराजले विभिन्न बैंकमा तीनवटा खाता रहेको, उक्त खातामा विभिन्न व्यक्तिले रकम जम्मा गरेको र उक्त रकम छोरालाई अस्टे«लिया पठाउने प्रयोजनका लागि जम्मा गरिएको दाबी गरेका छन् ।
धनराजले बयानमा भनेका छन्, ‘मेरो छोरा विदेश पठाउनका लागि बैंक खातामा जम्मा गर्ने प्रयोजनका लागि बैंक ब्यालेन्स सो गरेको हो । जसका लागि सञ्जीव न्यौपानेले १९,५०,०००, सञ्जीवमार्फत दीपेन्द्र रायले १०,४०,००० र सञ्जीव न्यौपानेमार्फत १५,१०,००० गरी ४५,००,००० रुपैयाँ जम्मा भएको हो । लगत्तै सञ्जीवलाई १८–१८ लाख गरी जम्मा ३६,००,००० भुक्तानी फिर्ता दिएको हो । र, बाँकी ९,१५,००० निकाली सञ्जीवलाई नै सापटबापतको रकम फिर्ता गरेको हो । १५,०८,१३,४३१ चुनावी प्रयोजनका लागि दाजुलगायत शुभेच्छुकहरूबाट सापट लिएको रकम हो ।’
साथै धनराजले बयानमा भनेका छन्, ‘मिति २०७९/०६/३१ र २०७९/०७/१५ गते जम्मा भएको १८ लाख रकम चुनावका लागि भनी विभिन्न शुभेच्छुकहरूले संकलन गरेको रकम हो र उक्त रकम मेरो पिए प्रेमप्रकाश केसीले भुक्तानी लिएका हुन् । उक्त खातामा मिति २०८१/०१/२० मा जम्मा भएको ३०,००,००० रकममध्ये १५ लाख रकम मैले मेरो दाजुहरूसँग पटक–पटक गरी सापट लिएको, सात लाख रकम कविता गुरुङसँग सापट लिएको, पाँच लाख सन्तोष भट्टराईसँग सापट लिएको र तीन लाख राजु केसीसँग सापट लिएको रकम हो । कविता गुरुङ मेरो हुनेवाला सम्धिनीज्यू हुन् ।’
संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । सूर्य थापा नेतृत्वको संसदीय समितिले स्पष्ट रूपमा धनराजविरुद्ध थप छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिएको छ । ‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेको चर्चा छ । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि सँगै बस्ने गरेको चर्चा छ,’ समितिले भनेको छ, ‘निजहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरिएको छ ।’
सरकारी वकिल कार्यालय ललितपुरका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले धनराजविरुद्ध अभियोगपत्र पेस गर्नुपर्ने कुनै कानूनी आधार नभेटिएको बताए । ‘धनराज गुरुङविरुद्ध अभियोग लगाउनुपर्ने कुनै तथ्य फेलापरेन । सहकारीबाट ऋण त जोकोहीले पनि लिन सक्छन्, उनले पनि लिए र चुक्ता पनि गरे । त्यसैको आधारमा अभियोग लाग्ने कुरा भएन,’ उनले भने ।
अध्यक्षसहित आठविरुद्ध मुद्दा दर्ता
जिल्ला सरकारी वकिल कार्यालयले मितेरी सहकारीका अध्यक्ष कुम्भराज राईसहित आठजना प्रतिवादीविरुद्ध करिब सात अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । तर, अर्कोतर्फ जाहेरीमा नाम समावेश गरिएका धनराजलाई सत्ताकै आडमा सुनियोजित तरिकाले योजनाबद्ध उन्मुक्ति दिइएको पाइएको छ । जबकि प्रहरीले अनुसन्धान थालेको आठ महिनापछि धनराजले पैसा फिर्ता गरेका छन् ।
अभियोग पत्रमा उल्लेख भएअनुसार कुम्भराजसहित बर्दिया बाँसगढी नपा– ७ का वर्ष ४३ का ज्योतिबहादुर भण्डारी, धादिङ धुनीबेँसी नपा– ९ का वर्ष ३६ का सुवास खत्री, बर्दिया बाँसगढी गापा– ४ का वर्ष ३४ सुरेश अधिकारी, स्याङ्जा अर्जुनचौपारी गापा–२ की ४७ वर्षीया ज्योति गुरुङ, खोटाङ साकेला गापा–२ का वर्ष ४९ का विजयकुमार राई, बागलुङ गल्कोट नपा– ३ का वर्ष ३५ वर्षीय प्रितम अधिकारी र सिन्धुपाल्चोक चौतार नपा– ९ का ३३ वर्षीय अर्जुन अराम प्रतिवादी छन् । जसमध्ये ज्योतिबहादुर, सुवास र सुरेश पक्राउ परेका छन् । बाँकी प्रतिवादी फरार रहेका छन् ।
उनीहरूमध्ये सबैभन्दा धेरै बिगो दाबी सुवास र अर्जुनविरुद्ध मागदाबी गरिएको छ । उनीहरूले हुन्डी कारोबार र क्रिप्टोमा समेत लगानी गरेको देखिएको हुँदा उनीहरूविरुद्ध ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ बिगो दाबी छ । यस्तै ज्योतिबहादुरविरुद्ध १७ करोड ७२ लाख, कुम्भराजसहित विजयकुमार र प्रितमविरुद्ध १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ बिगो दाबी गरिएको छ । यसबाहेक मुद्दाका अन्य प्रतिावादी ज्योति गुरुङ र सुरेश अधिकारीविरुद्ध १७ करोड ७२ लाख सात हजार १७४ रुपैयाँ बिगो दाबी माग छ ।
बिगोसहित प्रतिवादीविरुद्ध सातदेखि १० वर्षसम्मको कैद सजायसमेत माग गरिएको छ । उनीहरूविरुद्ध ठगी गर्न नहुने, अभौतिक मुद्राको प्रयोग गर्न नहुने, मतियार हुन नहुने, कसुरको प्रमाण दबाउन नहुने, हुन्डी कारोबार गर्न नहुने र संगठित अपराध गर्न नहुनेलगायतका कसुर आकर्षिक छन् ।