
नयाँ पत्रिकाकर्मी श्रीलोचन राजोपाध्याय पुरस्कृत भएका छन्। सोमबार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा राजोपाध्यायसहित १९ जना खेलाडी, खेलकर्मी र पत्रकारलाई पुरस्कृत गरेको हो।
मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले ६ जना खेलाडी, दुई प्रशिक्षक, एक चिकित्सक र १० जना पत्रकारलाई सम्मान गरे।
पुरस्कृत हुने खेलाडीमा भरतसिंह महता (पारा तेक्वान्दो), प्रेमबहादुर लिम्बू (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई (कबड्डी), मानमती विष्ट (कबड्डी) र दीपा शाही (फुटबल) रहेका छन्। पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ। प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोल पुरस्कृत भए।
मन्त्रालयले खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार राजोपाध्यायलाई ५० हजार राशीसहितको खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको हो। अन्य ८ पत्रकारमा मुकुन्द घिमिरे, सरदचन्द भट्टराई, विक्रमकुमार बानियाँ, दिननाथ बराल, स्वस्तिक श्रेष्ठ, दिनेशकुमार बुढा, दिनेशबहादुर विष्ट, नमिता दाहाल र रुपा गहतराज छन्। उनीहरुले २५ हजार रुपैयाँ राशीसहितको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेका छन्।
पुरस्कार प्रदान गर्दै मन्त्री चौधरीले निष्पक्ष रूपमा छनोट गरी राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको बताए। कार्यक्रममा मन्त्री चौधरीसहित मन्त्रालयका सचिव हरिप्रसार लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको उपस्थिति थियो।