
तामाङ भाषामा रहेको प्रेम गीत ‘जालमाया’ को नयाँ संस्करण सार्वजनिक भएको छ । गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानलमार्फत प्रस्तुत यस गीतको नयाँ संस्करणमा गायिका घिसिङसँगै गायक रमण थामीको स्वर रहेको छ । गीतलाई अडियो प्लाटफर्ममार्फत सार्वजनिक गरेपश्चात् भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
तामाङ सिनेमा ‘जालमाया’को शीर्षक गीत रहेको यस गीत ०६० सालमा गायक अमृत लामा र स्व. गायिका योगिता मोक्तानको स्वरमा रेकर्ड गरिएको थियो । फिल्म निर्माता सन्तलाल घिसिङले रचना गरेको गीतमा कुबेर दोङको सङ्गीत र उनकै सङ्गीत संयोजन रहेको छ ।
करिब २२ वर्षपछि रेकर्ड गरिएको ‘जालमाया’ को नयाँ संस्करणलाई भने पवन वाङ लामाले सङ्गीत संयोजन गरेका छन् । सुन्दर लामाले ध्वनी सम्पादन गरेको यस गीतलाई रोशन फ्युबाले भिडियोतर्फ निर्देशन गरेका छन् । तामाङ समुदायको बाक्लो बस्ती रहेको रसुवा र धादिङ जिल्लाको सुन्दर प्राकृतिक स्थलमा छायाङ्कन गरिएको यस गीतमा रन्जिता तामाङ र सोनाम तामाङको अभिनय छ।