
२१ वर्षीय सविन दाहाल महाँकाल गाउँपालिकामा सबइन्जिनियरका रूपमा कार्यरत थिए । गएको चैतदेखि मात्रै काममा जोडिएका उनी करिअरको सुरुवातमै थिए । उनीसँग धेरै सपना थिए । बाटो नाप्दै भविष्य अगाडि बढाउने लक्ष्य थियो । तर, बुधबार साँझ उनले पानी नाप्न सकेनन् र जीवन गुमाए ।
दाहाल बुधबार साँझ सडक नापजाँच गरेर बाइकमा एक्लै फर्किँदै थिए । बाटोमा पर्ने महाँकाल गाउँपालिका– ६ ठुलादुर्लुङस्थित भर्याङखोल्सीमा पानीको बहाव धेरै थियो । उनले एकछिन रोकिएर खोल्सी तर्न सक्ने–नसक्ने आकलन गरे । तर, धेरैबेर कुर्न चाहेनन्, किनभने रात पर्न थालिसकेको थियो ।
खोल्सीमा ठुलो बाढी देखे पनि साँझ साढे सात बजेतिर उनले जोखिम मोल्दै तर्न खोजे । बाइक अघि बढाए । तर, पानीमा बाइक उनको नियन्त्रणमा रहेन । बाइकसँगै उनी पनि बाढीमा हेलिए । उद्धार गर्ने कोही थिएनन् । क्षणभरमै बाढीले बाइक र दाहाललाई तलै पुर्यायो ।
सविनभन्दा धेरै पछाडि उनीसँगै फिल्डमा गएका अन्य कर्मचारी पनि फर्किँदै थिए । तर, ती कर्मचारी खोल्सी तर्ने स्थानसम्म आइपुग्दा दाहाललाई बगाइसकेको थियो । बाइक १० मिटर तल पुगेको थियो । उनलाई बाढीले बगाएर दुई सय मिटर तल पुर्याएको थियो ।
दाहालको पछि आउँदै गएका अन्य कर्मचारीले खोल्सीमा ठुलो बाढी आएको देखे र केही तल बाइक पल्टिएको देखे । तर, दाहाल कहाँ छन् भन्ने थाहा पाएनन् । त्यसपछि उनीहरूले स्थानीय, प्रहरी र जनप्रतिनिधिहरूलाई खबर गरे । महाँकाल गाउँपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार दाहाल काम सकाएर बाइकमा फर्कँदै गर्दा बाढीले बगाएको हो । ‘उहाँ सडकको नापजाँच गरेर एक्लै फर्किनुभएको थियो । अरू साथीहरू धेरै पछि थिए । उहाँले खोला तर्न खोज्दा बाइक र मानिस दुवै बगाएछ,’ उनले भने, ‘खोज्दै जाँदा दुई सय मिटर तल शव भेट्टायौँ ।’
वडाध्यक्ष तिमल्सिनाका अनुसार दाहालका परिवार ढोलाहिटीमा गाईपालन गरेर बस्छन् । उनी महाँकाल–४, नकनडोलस्थित मामाघरमा बस्दै आएका छन् । बुधबार पनि ड्युटी सकाएर मामाघर फर्कने क्रममा बाढीले उनलाई बगाएको हो ।
त्यस्तै, महाँकाल गाउँपालिका– ६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा ठुलो बाढी आएको थियो । भेलसहितको बाढीले दाहाललाई बगााएको उनले बताए । ‘बुधबार साँझ ठुलो बाढी आएको थियो । खोल्सामा पनि उर्लिएर बाढी आएछ । साँझ ७:३० बजेतिर बाढीले बगाएछ,’ उनले भने । वडाध्यक्ष चौलागाईंका अनुसार बगाएको थाहा पाएपछि राति १० बजेतिर खोजी कार्य सुरु भएको थियो । ‘धेरै तल शव भेट्टायौँ,’ उनले भने ।