
धादिङको नीलकण्ठ नगरपालिका–३ का आयुष भट्टको एसइई परीक्षाको नतिजामा सबै विषयमा ए प्लस आएको छ । तर, नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको लापरबाहीले उनको ४ जिपिए आउन सकेन । विषय शिक्षक र प्रधानाध्यापकले विषयको पुर्णाङ्कको ख्याल नगर्दा ४ जिपिए आउनबाट बञ्चित भएका हुन् ।
सबै विषयमा ए प्लस ल्याएका भट्टको कम्प्युटर विषयको प्रयोगात्मकमा सी प्लस मात्र आएको छ । यसैका कारण सिम्बोल नम्बर ०२६०००८७ ‘आई’ भएका भट्ट ४ जिपिए पाउनबाट बञ्चित भएका हुन् । पुर्णाङ्कको ख्याल नगरि नम्बर दिदा उनीसँगै २४ जना विद्यार्थीको जिपिए घटुवा भएको छ । भट्ट भन्छन्– ‘५० पुर्णाङ्कमा २५ भन्दा कसैको बढी आएको छैन । विद्यालयले हामी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्याे ।’
कम्प्युटर विषयको प्रयोगात्मक प्राप्ताङ्क परीक्षणमा विद्यालय प्रशासन र विषय शिक्षकले गम्भीर लापरबाही गरेको कारण २४ जना एसइई परीक्षार्थीको ग्रेड घटुवा भएको हो । यसले छात्रवृत्ति र उत्कृष्ट शिक्षालयमा पढ्न पाउने अवसरसमेत गुमाउनु पर्ने अवस्था सिर्जना भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
सैद्धान्तिकतर्फ ए प्लस ल्याएका भट्टले प्रयोगात्मकमा ए मात्र आए पनि समग्रमा ४ जिपिए हुन आउँछ । तर, विद्यालयले प्रयोगात्मकतर्फ ५० पूर्णाङ्कको सट्टा २५ पूर्णाङ्कमै मुल्याङ्कन गरेर परीक्षा बोर्डमा पठाएको खुलेको छ ।
घटनाले विद्यार्थीका अभिभावकहरू आक्रोशित बनेका छन् । ‘छोरा आयुषले प्रत्येक परीक्षा राम्रो दिएको थियो, तर प्रयोगात्मकमा विद्यालयकै लापरवाहीले उसको नाममा बन्ने रेकर्ड गुम्यो’, आयुषका आमा मुनादेवी पाठक भन्छिन्, ‘विषय शिक्षकले प्रयोगात्मकको पूर्णाङ्क नै थाहा नपाउनु र प्रधानाध्यापकले प्रमाणीकरण गर्दा पनि त्यत्ति सामान्य कुरामा ध्यान नदिनु गम्भीर लापरबाही हो ।’,
यो त्रुटिको जड विद्यालय प्रशासन र विषय शिक्षक दुवैमा देखिन्छ । सामान्यतः विषय शिक्षकले प्रयोगात्मक प्राप्ताङ्क तयार गरेर विद्यालय प्रशासनमा बुझाउने र त्यसलाई प्रधानाध्यापकले प्रमाणीकरण गरी परीक्षा बोर्डमा पठाउने प्रक्रिया हुन्छ । तर न त विषय शिक्षकले जिम्मेवारीपूर्वक अंक दिए, न विद्यालय प्रशासनले त्यसको प्रमाणीकरणमा ध्यान दिए । ख्यालख्यालमै २४ जना विद्यार्थीको भविष्य माथि खेलवाड भएको उनले बताइन् ।
कम्प्युटर विषय पढाउने शिक्षक प्रकाश श्रेष्ठ शैक्षिक सत्रको मध्यतिर मात्र नियुक्त भएका थिए । प्रारम्भमा अध्यापन गराइरहेका शिक्षक राजकुमार श्रेष्ठ अन्यत्र गएपछि प्रकाश श्रेष्ठले उक्त विषय अध्यापन गराउन थालेका थिए । तर, नयाँ शिक्षकले पनि विषयको मुल्याङ्कन प्रणालीबारे आवश्यक जानकारी नलिनु र प्रशासनको समेत लापारवाहीले विद्यार्थीको भविष्यमा धक्का पुगेको अभिभावकहरुको गुनासो छ ।
विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले पनि विद्यालय र शिक्षकको तर्फबाट भएको गल्ती स्वीकार गरेका छन् । भएका कमजोरी सच्याएर विद्यार्थीको पुनरावलोकनको प्रक्रिया थालिएकोले छिट्टै जिपिए सुधार भएर आउने बताए ।
शिक्षक र विद्यालयको यस्तै लापरबाहीका कारण २४ जना विद्यार्थीको समग्र जिपिए घट्दा उनीहरूले छात्रवृत्तिबाट वञ्चित हुनु, राम्रो क्याम्पसमा निःशुल्क पढ्न नपाउनु, र भविष्यमा उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक अवसरमा प्रतिकूल असर पर्ने निश्चित छ । शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयले यस्ता घटनालाई गम्भीर रूपमा लिएर तत्काल पुनरावलोकन प्रक्रिया अघि बढाउनु आवश्यक रहेको अभिभावकहरूको माग छ ।