१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार २१:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल प्रहरीका वरिष्ठ सइको तलबमान समायोजनका लागि १५ करोड निकासा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार २१:५५:oo

नयाँ पद सिर्जना गरेर बढुवा गरिएको करिब चार वर्षसम्म  नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)ले पदअनुसारको तबल पाउने भएका छन् । सोमबार अर्थ मन्त्रालयले उनीहरूको लागि १५ करोड रुपैयाँ निकासा दिएको छ । 

मन्त्रिपरिषद्को बैठकले उनीहरूको  तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेपनि अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा उनीहरूको बृद्धि भएको तलब रोकिएको थियो ।  सोमबार अर्थमन्त्रालयले तलब निकासको पत्र गृह मन्त्रालयमा पठाएको छ।  गृह मन्त्रालयले २४ करोड माग गरेकोमा १५ करोड मात्र निकासा भएको हो । 

गत ३१ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको थियो । सोअनुसार बजेट निकासका लागि गृह मन्त्रालयले लेखेर पठाएकोमा अर्थले रोकेर राखेको थियो। निरन्तर दबाबपछि बल्ल अर्थले बजेट दिएको हो । 

प्रहरीका वरिष्ठ सइले बढुवा हुँदा पनि खाइपाइआएको भन्दा कम तलब पाउँदै आएका छन् ।  उनीहरुले पाँच ग्रेडसम्म पाउने गरी ग्रेड समायोजनको निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।  हाल दुई ग्रेडसम्म मात्र हुँदा उनीहरुको तलब सइको भन्दा २६१ रुपैयाँ कम  छ। 

तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेपछि उनीहरू सर्वाेच्च अदालत समेत गएका थिए । गत वर्ष १७ साउनमा सर्वाेच्चले उनीहरुको तलबमान समायोजन गरी ग्रेड बढाउन परमादेश दिएको थियो । सो परमादेशको पनि करिब एक वर्ष हुन लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । 

कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबिच वरिष्ठ सइ पद थपेको थियो । वरिष्ठ सइको एक हजार चार सय १८ जनाको दरबन्दी छ ।   

 वरिष्ठ सइको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले ४३ हजार सात सय ३२ मात्र पाउने गरेका छन् । तर, सइको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ ।  वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको थियो। 

 प्रहरी नियमावलीको नियम १४३ मा कुनै प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाको बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधासम्बन्धी सेवाका सर्तमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिनेछैन भन्ने व्यवस्था छ । सो प्रावधानविपरीत वरिष्ठ सइको तलब  घटेको थियो ।  सइबाट वरिष्ठ सइमा बढुवा हुँदा काँधमा फुली बढे पनि तलब घटेपछि निराश बनेका प्रहरी अधिकारीले ०८० को असार र पुसमा रिट हालेका थिए । उनीहरूले बढुवा भएकै वेलादेखिको तलब वृद्धिको माग गरी रिट दायर गरेकोमा सर्वाेच्चले मागअनुसार हुने फैसला गरेको थियो । जुन फैसला बल्ल कार्यान्वयन प्रक्रियामा गएको छ ।