
मञ्जुश्री फाइनाइन्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । फाइनाइन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिटजस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने बताइएको छ ।
‘खल्तीमार्फत कारोबार गरिरहेका ग्राहक सदस्यले अब सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तीय संस्थामा गएर खाता खोल्ने झन्झट नहुने र यसले समय पनि बचत हुनेछ,’ फाइनान्सका सिइओ तेजराज तिमिल्सिनाले बताए ।
यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिनादेखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुवात गर्न सकिने सुविधा रहेको छ । ‘स्मार्ट डिपोजिट’ फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग पु¥याउने विश्वास गरिएको छ ।
हाललाई यो सुविधाअन्तर्गत मञ्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।