दैलेख कारागारमा रहेका १४१ कैदीबन्दीमध्ये ६१ जनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागार कार्यालय दैलेखबाटै मतदान गर्ने व्यवस्था गरिएको हो। कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला कारागार दैलेखका जेलर जितबहादुर खत्रीले बताए। उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन्।
११ स्थानीय तहका ९० वडा रहेको दैलेखमा तीन हजार २०७ अस्थायी मतदाताले सामानुपातिकमा मतदान गर्न पाउनेछन्। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले बताइन्।
जिल्लाभर १३९ मतदानस्थल र २०७ मतदान केन्द्र रहेका छन्। निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ। मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेका छन् भने निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने क्रम जारी छ। दुई प्रतिनिधिसभा तथा चार प्रदेश सभा गरी ६ पदका लागि दैलेखमा ३३ उम्मेदवार चुनावी मैदानमा छन्।