विराटनगर- गत २६ जेठ ०८३ मा सुनसरीको बराहक्षेत्र नगरपालिका भरौलमा मोटरसाइकलको ठक्करबाट सडकमा हिँडिरहेका एक व्यक्ति घाइते भए । इलाका प्रहरी कार्यालय महेन्द्रननगरले मोटरसाइकलचालक २७ वर्षीय जेम्स चौधरीलाई नियन्त्रणमा लिएर घाइतेलाई उपचारका लागि मोरङको बुढीगंगा– २ स्थित विराट टिचिङ अस्पताल पठायो । तर, घाइतेको उपचारकै क्रममा मृत्यु भयो । प्रहरीले कोशी अस्पतालमा शवको पोस्टमार्टम गरायो ।
शव बेवारिसे भएकाले प्रहरीले सनाखतका लागि हुलिया जारी गर्यो । हुलिया थाहा पाएर मोरङको लेटाङ नगरपालिका– ५, खेरुवाका नारायण राय क्षेत्री आफन्त र जनप्रतिनिधिसहित २९ जेठमा कोशी अस्पताल आए । मृतक आफ्नै छोरा ३६ वर्षीय पदमबहादुर राय क्षेत्री भएको दाबी गरेपछि प्रहरीले जनप्रतिनिधिसमेतको रोहवरमा शव जिम्मा लगायो । आफन्तले २७ जेठमा स्थानीय खोलामा दाहसंस्कार गरे । तर, दुर्घटनामा मृत्यु भएको भनी काजकिरियासमेत सकिसकेका व्यक्ति दसैँको पूर्णिमाका दिन टुप्लुक्क घर आइपुगे । यसपछि आफन्त, गाउँले मात्र होइन, बाबु र आफन्तसँग सनाखत गराएर जिम्मा लगाउने प्रहरीसमेत अचम्ममा पर्यो ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार गत २६ जेठ बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका– ४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले ठक्कर दिएपछि चालक जेम्स चौधरीविरुद्ध इप्रका महेन्द्रनगरले सवारी ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले चौधरीलाई पाँच महिना कैद र दुई हजार रुपैयाँ जरिवना र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने आदेश गरेको थियो । त्यसपछि चौधरी पाँच महिना कैदबराबरको जरिवाना बुझाएर रिहा भएका थिए ।
दुर्घटनामा मरेको व्यक्ति जिउँदै फर्किएको यो घटनाले नेपाल प्रहरीको शवको पहिचान पुष्टि गर्ने प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको छ । प्रहरीले दाबी विरोध गर्ने कोही नभएका थुप्रै दुर्घटना र आत्महत्या वा फेला परेका बेवारिसे शवहरूमा झैँ हतार गरेर एकै दिनमा एउटै मात्र स्रोतको भर परेर शव जिम्मा लगाउनु प्रभावकारी अनुसन्धान प्रक्रिया हो कि होइन भन्ने प्रश्न उब्जेको छ । अब सुनसरी प्रहरीलाई उक्त घटना पुनः अनुसन्धान गरेर दुर्घटनामा मरेर दाहसंस्कार गरिएका व्यक्ति को थिए भनेर पत्ता लगाउनुपर्ने भएको छ । साथै शवको दाहसंस्कार गरेर दुर्घटना विमाबापतको पाँच लाख रुपैयाँ बुझेको राय परिवारले पनि पैसा फिर्ता गर्नुपर्ने भएको छ ।
पदमबहादुरकी छिमेकीसमेत रहेकी लेटाङ नगरपालिका– ५ की वडासदस्य शोभा बोहरा खड्काका अनुसार जिउँदै फर्किएका पदमबहादुर रायकी आमा प्रस्ट बोल्न नसक्ने बौद्धिक अपांगता छिन् । पदमबहादुरले घाँसदाउरा गर्नेक्रममा प्रेमविवाह गरेका थिए । धेरै मदिरा खाने भएकाले एकजना सन्तान भएपछि उनकी श्रीमतीले छाडेर गएकी थिइन् । त्यसपछि उनको मानसिक अवस्था झन् बिग्रेर उनी कडाखाले मनोरोगी बनेका थिए । त्यसैले उनी ०८२ माघदेखि घर छाडेर भौँतारिँदै हिँड्ने गरेका थिए । प्रहरीले हुलिया सार्वजनिक गरेपछि सनाखत गर्न पदमबहादुरका बाबु नारायण राय क्षेत्रीसँगै वडासदस्य बोहरा पनि कोशी अस्पताल पुगेकी थिइन् । सबै कुरा मिलेकाले बाबु नारायणले मृत छोरा जिम्मा लिएका थिए । ‘म स्वयं पनि सनाखतमा आएकी थिएँ, सबै कुरा मिलेको थियो, तर अब के थाहा यस्तो पनि हुन्छ भनेर ? अब हामी पो कानुनी कुरा मिलाउन प्रहरीकोमा धाइरहेका छौँ,’ उनले भनिन् ।
६ महिनापछि घर फर्किएका पदमबहादुर कडाखाले मानसिक रोगी भएकाले उनलाई फेरि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रहरीले पदमबहादुर जीवितै फर्किएपछि दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान खुलाउन पुनः अनुसन्धान गर्ने भएको छ । ‘यो केस इप्रका महेन्द्रनगरले हेरेको रहेछ, अब हामीले त्यसको फेरि अनुसन्धान थालेका छौँ,’ सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले भने ।
स्थानीयका अनुसार राय परिवारको आर्थिक अवस्था दयनीय छ । सामान्य खेतीपाती र पशुपालनबाट कठिनले जीवन गुजारा चलाउँदै आएको छ । यसैले धेरै कुरा मिलेकाले छोरा पदमबहादुरको मृत्यु भएको ठानेर बाबु नारायणले सनाखत गराएको हुन सक्ने आशंका प्रहरीको छ ।