कोभिसिल्डले नष्ट गर्‍यो १० करोड डोज भ्याक्सिन

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

भारतीय खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले म्याद सकिएको कोभिडविरुद्धको भ्याक्सिनको १० करोड डोज नष्ट गर्नुपर्ने जनाएको छ । विश्वको सबैभन्दा ठूलो कोभिड खोप निर्माता कम्पनी सेरमले भ्याक्सिनको माग निकै न्यून हुँदा उत्पादन गरिएको भ्याक्सिन नष्ट गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ । करिब एक साताअगाडि नै खोप नष्ट गर्नुपर्ने अवस्थाबारे जानकारी दिएको कम्पनीले खोप चरणबद्ध तरिकाले नष्ट गरिने जनाएको छ । 

हाल स्थानीय प्रयोगका लागि भ्याक्सजेभेरिया डोज उत्पादन गरिरहेको जनाएको कम्पनीले सुरुवाती चरणमा उत्पादन गरेको खोप नष्ट गर्न लागेको हो । अधिकांशमा प्रयोगमा आइसकेको खोपको डोज भने कम्पनीले गत डिसेम्बरदेखि नै उत्पादन बन्द गरेको थियो । 

भारतमा झन्डै ९० प्रतिशतमा प्रयोगमा ल्याइएको कोभिसिल्ड खोपको माग विश्वभर नै घटेको हो । भारतमा मात्रै कोभिसिल्डको प्रयोग दुई अर्ब डोजभन्दा बढी भएको कम्पनीले जनाएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ७० प्रतिशतभन्दा बढीले कम्तीमा दुई डोज लिएका छन् ।

२०२२ जनवरीमा भारतले स्वास्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदार र ६० वर्षभन्दा माथिका कमोरबिडिटी भएकालाई बुस्टरको रूपमा प्रयोगमा आएको कोभिसिल्ड भ्याक्सिन विश्वका अधिकांश देशमा प्रयोगमा आइरहेको छ । तर, अधिकांशले भ्याक्सिन लगाइसकेको र बुस्टर भ्याक्सिनको माग नभएका कारण भ्याक्सिन नष्ट गर्नुपरेको कोभिसिल्डका प्रमुख एडर पुनावालाले जनाएका छन् । ‘अहिले मानिसहरू कोभिडबाट दिक्क भइसकेका छन् । इमानदारीपूर्वक भन्नुपर्दा हामी सबै र म पनि दिक्क छु,’ उनले भनेका छन् ।

कम्पनीका अनुसार संक्रमण उच्च फैलिएमा नियन्त्रणका लागि कोभिसिल्डको करिब १० करोड डोज मौज्दातमा राखेको थियो । तर, बुस्टर डोजको प्रयोग भारतमा मात्र नभई विश्वभर नै घटेकाले भ्याक्सिन नष्ट गर्नुपरेको स्पष्ट पारेको छ । अन्य फ्लुका भ्याक्सिनजस्तै कोभिड पनि प्रत्येक वर्ष फरक प्रयोगमा आउने भएकाले पुुरानो खोपको आवश्यकता घट्दै गएको विज्ञहरूले बताउँदै आएका छन् । 

सुझावित समाचार