मुगुकाे रारा विमानस्थलमा समयमा जहाज उडान नहुँदा एक बिरामीको विमानस्थलमै मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका– ५ ढुमगाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै मृत्यु भएको छ।
केही दिनअघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका र अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगन्ज रेफर गरेपछि एयरपोर्ट पुर्याएरका रोकायाको जहाज समयमै नआउँदा मृत्यु भएको हो। जहाज नआउँदा रोकायाको एयरपोर्टमै मृत्यु भएको रारा विमानस्थल प्रमुख रोमन भट्टराईले बताए।
रारा विमानस्थलमा नेपालगन्जदेखि जहाज उडान कम हुन थालेपछि बिरामीको अकालमा ज्यान जान थालेको छ। रोकायाको घाँटीको घाउ जटिल देखिएकोले अस्पतालमा उपचार असम्भव देखिएपछि नेपालगन्ज रेफर गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य प्रमुख उमेश गौतमले जनाए।
पहिले एक दिनमा चार, पाँच फ्लाइट उडान हुने रारा विमानस्थलमा दसैँतिहारको समयमा कम जहाज आउने गरेका कारणले बिरामी, सर्वसाधारणले तल झर्ने यात्रुले सास्ती भोग्दै आएका छ्न्। यतिवेला दसैँतिहार मानेर सुर्खेत, नेपालगन्ज काठमाडौं फर्किने विद्यार्थी र अन्य सरर्वसाधारणलाई सास्ती भएको छ।
गत असोजमा एक साता आएको अविरल वर्षाका कारण कर्णाली राजमार्ग पनि पूर्ण रूपमा सुचारु हुन नसक्नु र रारा विमानस्थलमा जहाज पनि समयमै नआउने, कमै फ्लाइट आउने भएकाले मुगुका बिरामीले अकालमै ज्यान गुमाउनुपरेको र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
हरेक वर्ष दसैँतिहारको समयमा दुर्गममा हवाईजहाज कमै फ्लाइट गर्ने र समयमै नआउने अनि डलर कमाउन पूर्वतिर जाने हुँदा दुर्गमका बिरामीले समयमै सुविधासम्पन्न अस्पतालमा पुग्न नपाउँदै अकालमै ज्यान गुमाउनुपरेको छ।