भक्तपुर ठिमी बस्ने १६ वर्षीय राजकुमार भुजेल दोलखा मेलुङस्थित घर जान ९ चैत ०७६ को बिहानै हिँडेका थिए । तर, उनी न घर पुगे, न ठिमीस्थित डेरामै फर्किए । बेपत्ता भएको साढे दुई वर्षसम्म उनको अत्तोपत्तो छैन ।
आठ कक्षा पढेका राजकुमारलाई अन्तिमपटक भक्तपुरको चारदोबाटोमा देखिएको थियो । दिदी उर्मिलाले भनिन्, ‘भाइ एकाएक बेपत्ता भयो । खोजीका लागि प्रहरी चौकी मात्र धाएनौँ, ज्योतिषीलाई समेत धेरैपटक देखायौँ । तर, भाइको खबर पाउन सकेनौँ ।’
दोरम्बा शैलुङ गाउँपालिका– ६ रामेछापकी १६ वर्षीया विनिता तिमल्सिना उपचारका लागि बुबा राम तिमल्सिनासँगै काठमाडौं आएकी थिइन् । वसन्तपुरस्थित बिजुनन्द महर्जनको घरमा डेरा लिएर बस्थे, काका शिव तिमल्सिना । उनी सोही डेरामा बस्थिन् । खेल्ने क्रममा उनी गणेशस्थानस्थित शान्ति निकुञ्ज माविको कमाउन्ड पुगेकी थिइन् । १७ पुस ०७७ मा एकाएक त्यहीँबाट हराएकी उनी अहिलेसम्म बेखबर छिन् । परिवारका सदस्यले बालबालिका खोजतलास समन्वय केन्द्र पुगेर गुहारे, तर विनिताको अत्तोपत्तो छैन । घरबेटी बिजुनन्दले भने, ‘उपचार गर्न उनलाई परिवारका सदस्यले काठमाडौं ल्याएका थिए । उनीहरू मेरै घरमा बस्थे । मानसिक अवस्था त्यति राम्रो थिएन । खेल्न गणेशस्थान चोकमा निस्केकी रहिछिन् । त्यसपछि बेपत्ता भएकी उनलाई कतै फेला पार्न सकिएको छैन ।’
९ मंसिर ०७७ मा हराएकी महालक्ष्मी नगरपालिका– ७ ललितपुरकी १४ वर्षीया ग्रेसी शर्मा पनि अझै भेटिएकी छैनन् । मानसिक अवस्था असामान्य रहेकी छोरी हराएलगत्तै आमा रञ्जिता शर्माले स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिइन् । भएजति सबै नाता–कुटुम्बकहाँ खोजी गरिन् । बालबालिका खोजतलास समन्वय केन्द्रको दैलोमा पनि पुगिन् । तर, ग्रेसी भेटिएकी छैनन् ।
काठमाडौंबाट दिनदहाडै बालबालिका बेपत्ता भएका प्रतिनिधि घटना हुन् यी । उनीहरूको खोजीका लागि परिवार र आफन्त मात्रै होइन, राज्यका सम्पूर्ण निकाय परिचालन भएको देखिन्छ । तर, कहीँ–कतै फेला पर्न सकेका छैनन् । यसरी बालबालिका हराएको तथ्यांक कहालीलाग्दो छ ।
राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार १६ वर्षमा ३६ हजार बालबालिका बेपत्ता भए, जसमध्ये ३६ प्रतिशत अर्थात् १३ हजारको अत्तोपत्तो लागेको छैन । बेपत्ता हुनेमा बालिका धेरै छन् । पछिल्लो पाँच वर्षमा १६ हजार सात सय ८५ बालबालिका बेपत्ता भएकामा बालिकाको हिस्सा ७७.९९ प्रतिशत अर्थात् ११ हजार नौ सय १६ छ ।
राष्ट्रिय बालअधिकार परिषद्को पछिल्लो तथ्यांकले प्रत्येक दिन १३ बालबालिका बेपत्ता हुने गरेको देखाएको छ । परिषद्का प्रवक्ता रामबहादुर चन्दले भने, ‘बेपत्ता हुनेमा सबैभन्दा धेरै बालिका छन् । त्यसमा पनि १५ देखि १८ वर्ष उमेर समूहका धेरै छन् । एकै उमेर समूहका बालिका बेपत्ता हुनु आश्चर्यको विषय हो । यसले एउटा गम्भीर प्रश्न के उठाउँछ भने बेपत्ता हुने त्यस उमेर समूहका बालिका कहाँ छन् ? कतै उनीहरूविरुद्ध आपराधिक क्रियाकलाप त भइरहेको छैन ?’
बालबालिका हराउने दर प्रत्येक वर्ष ३० प्रतिशतले वृद्धि भइरहेको पनि तथ्यांकले देखाएको छ । तर, बालबालिका किन हराइरहेका छन् भनेर कुनै अनुसन्धान भएको छैन । अनुभवका आधारमा चन्द यसमा मुख्य चार कारण देख्छन् । ‘बालबालिका किन हराउँछन् भन्ने विषयमा हालसम्म कुनै अनुसन्धान भएको छैन । तर, हाम्रो अनुभवअनुसार मुख्यतः आर्थिक र पारिवारिक कारणले उनीहरू बेपत्ता भएको देखिन्छ । अवसरको खोजीका क्रममा पनि बालबालिका बेपत्ता भएको देखिन्छ । कतिपय घटनामा मानसिक अवस्था असामान्य हुँदा पनि उनीहरू हराएका उदाहरण छन् ।’
हराउने बालबालिकाको संख्या ठूलो रहे पनि उनीहरू फेला परे–नपरेको विषयमा तथ्यांक अन्तर पर्न सक्ने प्रहरीको तर्क छ । हराएपछि सम्बन्धित निकायमा जानकारी गराउने परिवारले भेटिएपछि भने सूचना नदिँदा पनि संख्या ठूलो देखिएको हुन सक्ने बताउँछन् नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राई । ‘हामीकहाँ हराउने बालबालिकाको संख्या ठूलो छ । प्रहरीको खोजीपछि केही फेला पर्छन् । केहीको कुनै टुंगो लाग्दैन । हराउने बालबालिकाको संख्या ठूलो देखिनुमा अभिभावकको पनि दोष छ । जब बालबालिका हराउँछन्, परिवार हामीकहाँ आउँछन् । तर, जब उनीहरू परिवारको सम्पर्कमा आउँछन्, त्यतिवेला परिवारले प्रहरीलाई जानकारी दिँदैनन् । भेटिएका बालबालिका पनि बेपत्ताकै सूचीमा हुँदा यो संख्या धेरै देखिएको हुन सक्छ ।’
किन भेटिएनन् हराएका बालबालिका ?
१६ वर्षमा हराएका ३६ हजार ६ सय १२ मध्ये २३ हजार दुई सय ५९ बालबालिका मात्रै फेला परेका छन् । १३ हजार तीन सय ५३ को पत्तो छैन । यसमा बालिका धेरै छन् । उनीहरू किन भेटिएनन् ? राष्ट्रिय बाल अधिकार परिषद्को अनुभवमा अधिकांश बालिका घरेलु मजदुरका रूपमा बन्धक हुन सक्छन् । केही मनोरञ्जन क्षेत्र र यौनबजारमा यौनदासी बन्न विवश हुन सक्छन् । कैयौँ बालबालिका यस्तै अवस्थामा फेला पारेको परिषद् प्रवक्ता रामबहादुर चन्दको अनुभव छ ।
‘यति धेरै बालबालिका सम्पर्कभन्दा बाहिर छन् । उनीहरू कहीँ न कहीँ त अवश्य फेला पर्नुपर्ने हो । तर, कहीँ भेटिएका छैनन् । यसैले उनीहरू कि त घरेलु मजदुरका रूपमा बन्धक छन् कि अन्य अनैतिक काममा बलपूर्वक राखिएका छन्,’ उनले भने, ‘हामीकहाँ खुला सीमा छ । कैयौँ बालिका भारतीय सहरमा समेत पुर्याइएका हुन सक्छन् ।’
२३ हजार २५९ बालबालिका मात्रै फेला परे
हराएका बालबालिकामध्ये फेला परेका– ०६३/६४ मा १२ सय १४ । ०६४/६५ मा १४ सय ५३ । ०६५/६६ मा १३ सय ६ । ०६६/६७ मा १२ सय ८५ । ०६७/६८ मा १३ सय ४४ । ०६८/६९ मा ८८० । ०६९/७० मा ८३० । ०७०/७१ मा ४६३ । ०७१/७२ मा ३०९ । ०७२/७३ मा ४०८ । ०७३/७४ मा ७२० । ०७४/७५ मा एक हजार १७ । ०७५/७६ मा २५ सय ४० । ०७६/७७ मा २२ सय १९ । ०७७/७८ मा तीन हजार नौ । ०७८/७९ मा ४२ सय ६९ ।
पाँच वर्षमा झन्डै १८ सय बालबालिका बेवारिसे भेटिए
पाँच वर्षमा देशभरबाट एक हजार सात सय ८४ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् । जसमध्ये एक हजार एक सय ७२ बालक र ६ सय १२ बालिका रहेको राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांक छ । यस्ता बालबालिकामध्ये परिषद्ले केहीलाई अभिभावक पत्ता लगाएर जिम्मा लगाएकोे छ । अभिभावक फेला नपरेकाहरूको हकमा भने बालगृहको संरक्षणमा जिम्मा लगाउँछ । बेवारिसे फेला परेकामध्ये परिषद्ले एक हजार ४० बालबालिकालाई अभिभावकको जिम्मा लगाएको भने सात सय २२ लाई बालगृहको संरक्षणमा राखिएको छ । परिषद्का अनुसार २२ बालबालिका बालगृहबाट भागेर बेपत्ता भएका छन् ।
हराइरहेका बालबालिकामाथि आपराधिक क्रियाकलाप त भइरहेको छैन ?
रामबहादुर चन्द, प्रवक्ता, राष्ट्रिय बालअधिकार परिषद्
हराउने बालबालिकामा १५ देखि १८ वर्ष उमेर समूहका धेरै छन् । एकै उमेर समूहका बालबालिका बेपत्ता हुनु आश्चर्यको विषय हो । यसले एउटा गम्भीर प्रश्न के उठाउँछ भने बेपत्ता हुने त्यस उमेर समूहका बालिका कहाँ छन् ? कतै उनीहरूविरुद्ध आपराधिक क्रियाकलाप त भइरहेको छैन ? बालबालिका किन हराउँछन् भन्ने विषयमा हालसम्म कुनै अनुसन्धान भएको छैन । तर, हाम्रो अनुभवअनुसार मुख्यतः आर्थिक र पारिवारिक कारणले बेपत्ता भएको देखिन्छ । अवसरको खोजीका क्रममा पनि बालबालिका बेपत्ता भएको देखिन्छ । कतिपय घटनामा मानसिक अवस्था असामान्य हुँदा पनि हराएका उदाहरण छन् । यति धेरै बालबालिका सम्पर्कबाहिर रहनुको अर्थ उनीहरू कि त घरेलु मजदुरका रूपमा बन्धक छन्, कि अन्य अनैतिक काममा बलपूर्वक राखिएका छन् । कैयौँ बालिका भारतीय सहरमा समेत पुर्याइएका हुन सक्छन् ।
हराउने बालबालिका धेरै देखिनुमा अभिभावकको पनि दोष
डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी
हामीकहाँ हराउने बालबालिकाको संख्या ठूलो छ । प्रहरीको खोजीपछि केही फेला पर्छन् । केहीको कुनै टुंगो लाग्दैन । हराउने बालबालिकाको संख्या ठूलो देखिनुमा अभिभावकको पनि दोष छ । जब बालबालिका हराउँछन्, परिवार हामीकहाँ आउँछन् । तर, जब उनीहरू परिवारको सम्पर्कमा आउँछन्, त्यतिवेला परिवारले प्रहरीलाई जानकारी दिँदैनन् । भेटिएका बालबालिका पनि बेपत्ताकै सूचीमा हुँदा यो संख्या धेरै देखिएको हुन सक्छ । तर, कैयौँ बालबालिका अझै बेपत्ता हुनुमा उनीहरूलाई गलत कर्ममा लगाउनु हो ।