प्रदीप गिरिको स्वास्थ्य थप जटिल

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् गिरिलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ । 
मेडिसिटीमा उनको डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर पछिल्ला अन्य भागमा पनि फैलिँदै गएकाले थप समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । 
झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई तीन साताअघि मेडिसिटी अस्पतालमा भनाइ गरिएको थियो । 
गिरिको पारिवारिकका सदस्यहरूले स्वास्थ्य अवस्था गम्भीर रहेकाले स्वास्थ्यलाभको कामना गर्न सामाजिक सञ्जालमा आग्रह गरेका छन् । उनको स्वास्थ्यअवस्थाको जानकारी लिन शुभचिन्तक तथा कांग्रेस नेताहरू अस्पताल जाने क्रम बाक्लिएको छ । 
गिरिलाई भेटेर फर्किएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले ट्वीट गर्दै ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेका छन् । ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं,’ उनले लेखेका छन् । 
प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार अस्पताल पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए । गिरिको स्वास्थ्यमा थप समस्या भएकाले भेटघाट र भीडभाड नगर्न परिवारका सदस्यले भने आग्रह गरेका छन् । 

सुझावित समाचार