आर्थर गन नेपाल आउँदै

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

सन् २०२० को अमेरिकी गायन रियालिटी सो ‘अमेरिकन आइडल’का उपविजेता आर्थर गन अर्थात् गायक दिवेश पोखरेललाई टुबोर्ग बियरले नेपाल ल्याइने भएको छ । आर्थरले ‘होम कमिङ टुर’अन्तर्गत यसै महिना काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।

अमेरिकन आइडल १८औँ सिजनको हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढेको थियो । प्रायः दर्शकले उनलाई अमेरिकन आइडल अडिसनमा गाएको बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स क्लियरवाटर, रिभाइभलको ह्याब यु इभर सिन द रेन गीतले चिन्छन् । उनको प्रस्तुतिलाई सबै निर्णायकहरूले प्रशंसा गरेका थिए । विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘ही इज द बेस्ट’ भन्दै प्रशंसा गरेकी थिइन् ।

उनको भिन्न र अद्वितीय स्वरलाई अन्तर्राष्ट्रिय गायक र कलाकारहरूले प्रशंसा गरेका थिए । उनले आठवटा गीत समावेश गरेर पहिलो एल्बम ‘ग्रहण– २०१८’ रिलिज गरेका थिए । यस्तै, दोस्रो एल्बम, खोज– २०१९ मा म, खोज र कर्णालीलगायतका गीतसहित जारी गरेका थिए । विश्वभरका दर्शकबाट माया र समर्थन पाएपछि यसको सम्मान गर्दै उनले मातृभूमि नेपाल फर्कने योजना बनाएका छन् । टुबोर्गले ‘ब्रेन सर्भिसिङ’ र ‘एमएन इभेन्ट्स’सँगको सहकार्यमा उनलाई नेपाल ल्याउन लागेको हो ।

 गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, ‘संगीतसँग टुबोर्गको लामो समयदेखि सम्बन्ध छ । नेपाली संगीत क्षेत्रको उत्थान र संगीतका विभिन्न विधालाई टुबोर्गले सधैँ समर्थन गर्दै आएको छ ।’ यसैलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध भएको उनको भनाइ छ । होम कमिङ टुरबारे आर्थर भन्छन्, ‘अन्ततः मेरो जन्मभूमि नेपाल फर्कन पाउँदा धेरै खुसी छु । यस टुरलाई सम्पन्न गर्न सहयोग गरेकोमा ट्ुबोर्गप्रति धन्य छु । म सबैलाई भेट्न र यात्रामा मलाई साथ दिनुहुने शुभचिन्तकहरूको माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।’
 

सुझावित समाचार