नेपाल–अमेरिका चलचित्र महोत्सव ९ असारमा

आइतबार, ५ असार, २०७९
डिजिटल संस्करण

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौँ संस्करण ९ असार (जुन २३ तारिख) देखि सुरु हुने भएको छ । भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा आयोजना हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

अमेरिकाको म्यारिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा विक्रम सापकोटा निर्देशित चलचित्र ‘हल्करा’ प्रदर्शनसँगै महोत्सवको शुभारम्भ हुनेछ । १२ असार(जुन २६ तारिख) निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शनपछि महोत्सवको समापन गरिने आयोजकको भनाइ छ । 

यस्तै, भौतिक प्रदर्शनीबाहेक महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत चलचित्र हेर्न सकिनेछ । विगतका वर्षजस्तै ‘ग्लोबल पिस फिल्म फेस्टिभल’को सहकार्यमा दुईवटा फिल्म प्रदर्शन गरिनेछ । साथै, स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डिएमभी (डी, मेरिल्यान्ड र भर्जिन्या) क्लोज–अप प्रदर्शन गरिनेछ ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा चलचित्र प्रदर्शनपछि निर्माता–निर्देशक तथा कलाकारसँग छलफलसमेत गरिनेछ । नेपालबाट कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने भएको छ । 

फिल्म फेस्टिवलमा प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरूलाई पुरस्कृत पनि गरिनेछ । निर्णायक मण्डलले उत्कृष्ट फिल्महरूको पुरस्कार घोषणा गर्नेछन् । फेस्टिवलमा नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायक 
मण्डलको रूपमा छन् । 

सुझावित समाचार