कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इपिएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन्। 

मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरू रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे। 

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे। अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन्।  

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेको बताएका थिए। कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ।  

विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए। व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाए। 

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुन: खुला गरिएको थियो।  करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि नाै सय ८४ जना गइसकेका छन् भने आज एक सय ७४ जना जाँदै छन्।  यसपछि मार्च १६ गते एक सय ७० जना जानेछन्।  

नेपालीहरू मिहिनेती र इमानदार भएकाले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताए। दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आएका छन्। 
 

सुझावित समाचार