मान्छे खाने बाघको खोजीमा वन डिभिजन कार्यालय, नेपालगन्जको टोली ७ फागुनदेखि राप्ती–सोनारी गाउँपालिका– ६ स्थित राप्तीपीडित सामुदायिक वनभित्र थियो । हात्तीको सहायताले खोजी गरिरहेको टोलीले बाघ पछ्याउने क्रममा पाइला देखे पनि फेला पार्न सकिरहेको थिएन । जंगलभित्र बाघका लागि ७ फागुन बिहान बाघको आहारा भैँसीको पाडा राखियो, तर पाडा खान बाघ आएन ।
लामो समयसम्म बाघ फेला पार्न नसकेपछि टोलीका सदस्यले खिन्नता महसुस गर्न थालेका थिए । ‘मान्छेलाई आक्रमण गर्ने बाघ बसाइँसराइ गरेर अन्यत्र गएको हो कि भन्ने लागेको थियो,’ डिभिजन वन कार्यालयका अधिकृत गणेश खड्काले भने, ‘तर, टोलीले हिम्मत हारेन ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वारा, बर्दियाका सुटरसहितको टोली १७ फागुन बिहानदेखि नै जंगलमा खटियो । तर, बाघ फेला परेन । दिनभर खोजी गरेको टोलीले रात पनि जंगलमै बितायो ।
फलस्वरूप १८ फागुन बिहान साढे ९ बजेतिर पाडाे खान बाघ आइपुग्यो । डिभिजन वन कार्यालयका कर्मचारीको निर्देशनमा संरक्षण कोषका सुटरले ‘डार्टगन’ (हिंस्रक जनावरलाई बेहोस बनाउन प्रयोग गरिने गोली) बाघमाथि प्रहार गरे । बाघ बेहोस भएर जमिनमा ढल्यो । ‘बाघ बेहोस भएर ढले पनि नियन्त्रणमा लिन धेरै मिहिनेत गर्नुपर्याे,’ खड्काले भने, ‘बेहोस बनाउन प्रयोग गरिने गोली हानेको धेरैपछि मात्र बाघ फेला पार्याैँ । छोपेर गाडीमा हाल्दासमेत डर लाग्यो ।’
उनले बाघ नियन्त्रणमा लिन ठूलो मिहिनेत गर्न परे पनि सफलताले राहत दिएको बताए । डिभिजन वन कार्यालयको टोलीले बाघलाई बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको उनले जानकारी दिए । उनले उक्त बाघ करिब आठ वर्षको भाले बाघ भएको बताए । पाडोलाई िसकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।
पाँच महिनामा राप्ती–सोनारी र नरैनापुर गाउँपालिकाका पाँचजनाको बाघले ज्यान लिइसकेको छ । उनले मान्छे खाने बाघ यही भएको दाबी गरे । मान्छेलाई आक्रमण गरेको ठाउँमै फेला परेकोले राप्ती–सोनारी र नरैनापुरका स्थानीयलाई आक्रमण गर्ने बाघ यही हो भन्ने दाबी गर्न सकिने उनले बताए । ‘नियन्त्रणमा लिएको बाघको शरीरमा सर्वसाधाणले घरेलु हतियारले हिर्काउँदा लागेको चोटको घाउ पनि छ । यसले यस क्षेत्रमा आतंक मचाउने बाघ यही हो भन्न सकिन्छ,’ खड्काले भने ।
सर्वसाधारण खुसी
मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा आएपछि सर्वसाधारण खुसी भएका छन् । बाघलाई नियन्त्रणमा लिएको सुनेपछि असाध्यै खुसी लागेको राप्ती–सोनारी गाउँपालिका– ६ हब्रह्वाकी सीता चौधरीले बताइन् । उनले बाघले आक्रमण गरी ज्यान लिन थालेदेखि जंगल जान छाडेको बताइन् ।
बाघलाई नियन्त्रणमा लिएको खबर पाएपछि खुिप् लागेको राप्ती–सोनारी गाउँपालिका– ७ की विमला शाहीले पनि बताइन् । उनी अति आवश्यक कामका लागि समेत जंगल जान सकेकी थिइनन् । उनले भनिन्, ‘घाँस, दाउरा र गाई, भैँसी बाख्रा चराउन बन्द भएको थियो । बाघ समातेको सुनेँ, खुसी लाग्यो । अब जंगल जान पाइने भयो ।’
यसैबीच सो बाघलाई बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाउन आवश्यक तयारीसहित ओभरी शमशेरगन्ज लैजान लागिएको प्रमुख वन अधिकृत कँडेलले जानकारी दिए ।