नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीको मागप्रति सत्तापक्ष गम्भीर नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले एमालेको मागप्रति सत्तापक्ष र सभामुख गम्भीर नभएको बताएका हुन् ।
संसद् नचल्नु सत्तापक्षका लागि चिन्ताको विषय हुनुपर्ने बताउँदै नेम्वाङले भने, ‘तर, प्रमुख प्रतिपक्ष बेलमा गएको विषय सत्तापक्षको लागि गम्भीर विषय नै बनेन । उहाँहरूले आनन्द मानिरहनुभएको छ । सत्तापक्ष यो विषयलाई लिएर गम्भीर छैन । सत्तापक्ष र सभामुख हामीले उठाएका विषयहरूप्रति गम्भीर बन्नुभएन ।’
एमालेका संसदीय दलका उपनेतासमेत रहेका नेता नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तापक्षले ल्याएको महाअभियोग पास गर्न नभ दर्ताका लागि मात्र ल्याएको बताए । उपनेता नेम्वाङले प्रधानन्यायाधीश जबराविरुद्ध छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरिएको र यसबारेमा अहिलेसम्म नेकपा एमालेसँग छलफल नभएको दाबी गरे । ‘उहाँहरू सुटुक्क हामीले थाहा पाउँछौँ कि जस्तो गरेर छापामार शैलीमा महाअभियोग दर्ता गर्ने र अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन । महाअभियोग पास गर्नको लागि होइन, दर्ता गर्नको लागि मात्रै हो,’ नेम्वाङले भने ।