सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ। सोमबार २५.४१ अंक बढेको नेप्से मंगलबार १७.४२ अंक बढेर दुई हजार सात सय ३५.९३ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स पनि ४.३६ अंकले बढेको छ।
मंगलबार कारोबारमा आएका दुई सय २८ कम्पनीको ६० लाख ८१ हजार कित्ता सेयर तीन अर्ब २१ करोड २८ लाख ८७ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। सोमबार तीन अर्बबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। जसमा विकास बैंक, वित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। तर, लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने सामान्य अंकले गिरावट आएको छ।
मंगलबार कारोबारमा आएका दुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सामलिङ पावरको सेयरमूल्य ८.५२ प्रतिशत बढेको छ। तर, सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य करिब २ प्रतिशत घटेको छ।
मंगलबार कारोबार रकमका आधारमा २१ करोडको सेयर खरिद–बिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।