बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।
प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयले जनाएको छ। हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ।
खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले मानवीय क्षति मात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए।
उनले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना संक्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए। यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना संक्रमणविरुद्धको खोप लगाए।
कोरोनाविरुद्धको खोप लगाउने र स्वाब संकलन कार्य जिल्लामा जारी रहेको बताइएको छ। जिल्लामा कोरोना संक्रमण हुनेको संख्या हालसम्म १७ हजार नाै सय ११ रहेको र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या एक सय ७१ रहेको कार्यालयले जनाएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गएको पाइएको छ। रासस