स्थानीय तहको निर्वाचन घोषणा भइकेको छ। सरकारले आगामी वैशाख ३० गते एकैपटकमा स्थानीय तहको निर्वाचन गर्दै छ। यो पाँच वर्षमा स्थानीय सरकारले के कति काम गरे त्यसको लेखाजोखा आमनागरिकले गर्ने नै छन्। यहाँ भरतपुर महानगरपालिकाको चर्चा गर्न लागिएको हो। २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट भरतपुर महानरपालिकाको प्रमुखमा रेणु दाहाल निर्वाचित हुनुभएको थियो।
सुन्दर नगर, भरतपुर महानगरलाई स्मार्ट सहर र आधुनिक भरतपुर महानगरका लागि पूर्वाधार विकास हुँदै गएका छन्। निर्वाचनका वेला नकारात्मक टिप्पणी गर्नेहरूलाई सकारात्मक विकासको बहसमा केन्द्रित हुन भरतपुर महानगरले प्रोत्साहित गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीका रूपमा पहिचान बनाउन खोज्नेहरूलाई रेणु दाहालले एउटा त्यस्तो महिला नेतृत्वको पहिचान बनाइदिएको छ, जसले विकास र समृद्धिको ढोका खोल्न सक्छ र जिम्मेवारी पाउँदा एक अब्बल र सफल नगरप्रमुख हुन सक्छ भन्ने उदाहरण प्रस्तुत भएको छ।
महानगरले स्थानीय सरकारलाई संघीय र प्रादेशिक सरकारसँगको समन्वय र सहकार्य गराउँदै विकास र समृद्ध भरतपुर निर्माणको महाभियानलाई सफल बनाउन सकिने आधार प्रस्तुत गरेको छ। भरतपुर महानगरपालिकाभित्र नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माण, चार वर्षमा महानगरभित्र ६१० किमि सडक कालोपत्रे, ४५ किमि महानगरको चक्रपथ, भित्री सडक, बाइपास सडक स्तरोन्नति र विकास सानो मिहिनेतले सम्भव भएको छैन। ती काम गर्न नगरका जनप्रतिनिधि र कर्मचारीको उत्तिकै मिहिनेत परेको छ। सिटी हल निर्माणको काम थालनी र चितवन इन्जिनियरिङ क्याम्पस स्थापना रणनीतिक महत्व राख्ने योजना हुन्। यी रणनीतिक योजनाका प्रतिफल आगामी दिनमा देखिँदै जानेछन्। मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न इन्जिनियरिङ क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ। नारायणी नदी डुबान, कटान नियन्त्रणका लागि तटबन्धन गर्न संघीय सरकारबाट ४ अर्बको बजेट सुनिश्चित गरिएको छ। वर्षेनी विपदको सामना गर्दै आएका नदी आसपासका नागरिकको जीवनमा यो योजनाले रूपान्तरण ल्याउनेछ। उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउन यो योजना कोशेढुंगा साबित हुनेछ।
मुलुकभरका विद्यार्थीहरूमा शिक्षाको उज्यालो छर्ने शिक्षकहरूको सम्मानमा भरतपुरमा बन्न लागेको शिक्षक अस्पतालले स्वास्थ्य क्षेत्रमा रूपान्तरण ल्याउन महत्वपूर्ण योगदान गर्नेछ। भरतपुर महानगरको पहलमा भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने संघीय सरकारले निर्णय गरिसकेको छ। यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानुपर्ने दायित्व संघीय र स्थानीय सरकार दुवै हुन्छ। भरतपुरमा रहेको चितवन जिल्ला अस्पताललाई स्तरोन्नति गरी केन्द्रीय अस्पतालमा परिणत गरिएको छ। महानगरभित्र ४० वटा स्वास्थ्य संस्थाको स्थापना गरिएको छ। जसले भरतपुर नगरवासीका लागि मात्रै होइन, चितवन र आसपासका जिल्लाका नागरिकको स्वास्थ्यमा योगदान दिनेछ।
परम्परागत कृषि पेसालाई आधुनिक र व्यावसायिक बनाउने अभियानमा महानगरले आफूलाई अग्रसर गराएको छ। कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न महानगरले धान रोप्ने र काट्ने मेसिन अनुदानमा कृषकलाई उपलब्ध गराएको छ। यसले कृषिको उत्पादकत्वमा वृद्धि ल्याउनेछ। दुग्ध उत्पादक कृषकलाई प्रोत्साहित गर्न योगदानमा आधारित प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ। यसले दुध उत्पादनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ। कृषि पेसामा लाग्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न कृषिमा ब्याज अनुदानको व्यवस्था गरिएको छ।
पर्यटनका लागि एक वडा एक पार्क निर्माण, समुद्री किनारको झल्को दिने गरी नारायणी नदी किनारको विकास र सी ब्रीज मोडेलको योजना निर्माण गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारीको मोडेलमा भरतपुर मेट्रो प्लाजाको निर्माण कार्य शुभारम्भ गरिएको छ। भरतपुरमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ। फोहोरमैला व्यवस्थापनका लागि वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापनको थालनी भएको छ। सामुदायिक विद्यालयको स्तरोन्नति र विकास भएको छ। तीन वर्षमा ६ हजार विद्यार्थी निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुनु सामुदायिक विद्यालयको गुणस्तर वृद्धि मापन गर्ने आधार हो। अटो प्याड निर्माण गरिएको छ। भरतपुरमा सवारी दर्ता, सवारीचालक अनुमतिपत्र, नवीकरण कार्य शुभारम्भ गरिएको छ। महानगरपालिकाभित्रका जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ। भूमिहीन सुकुमबासी, दलितलाई देशभरमा पहिलोपटक लालपुर्जा वितरणको प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्न थालिएको छ। भरतपुर महानगरपालिकाभित्रका मुख्य सडक तथा चोकमा १,९३३ वटा स्मार्ट बत्ती जडान कार्य सुरु गरिएको छ। गोलाघाटबाट २ घण्टा लगाएर भरतपुर आउने नागरिकको आँखा र अनुभवलाई बिर्साउँदै आधा घण्टामा जगतपुर, मेघौली, चौकीडाँडाबाट सदरमुकाम जोड्ने कालोपत्रे खुला र फराकिलो सडकले जोडिदिएको छ।
वर्षौंदेखि परम्परागत संसदीय अभ्यास र त्यसको नकारात्मक बिरासत र अवरुद्ध विकासको मूल फुटाइदिनुपर्ने थियो, त्यो काम रेणु दाहालको नेतृत्वमा भएको छ। गठबन्धनको मूल मर्म र भावनालाई बुझी कहीँ कतै पनि कमी हुन दिनुहुने थिएन, जसको सीधा प्रभाव राष्ट्रिय राजनीतिमा पर्ने गर्थ्यो। महानगरको निर्वाचित संरचनामा प्रतिपक्ष दल पनि निर्णायक र सशक्त अवस्थामा थियो।
यतिवेला राजनीतिक माहोल पाँच वर्षअगाडि सम्पन्न निर्वाचन र कार्यकालको समीक्षासँगै आगामी कार्यकालका लागि छनोट हुने जनप्रतिनिधिबारेमा बहस, छलफल र धारणाहरू सार्वजनिक हुन थालेका छन्। मुलुकभरका ७५३ वटै पालिकाहरूमा भएका कामको उपलब्धि र सन्देशका बारेमा देशविदेश यत्रतत्र बहस हुन थालेका छन्। मूलतः मुलुक चुनावी माहोलतिर केन्द्रित हुँदै छ। राष्ट्रिय राजनीतिमा देखिएका एकता र ध्रुवीकरणको रेखाले गठबन्धनको माहोल पनि स्पष्ट देखिन थालेको छ, जसको सोझो प्रभाव अबको निर्वाचनमा केन्द्रित हुनेछ। यो पाँच वर्षको समीक्षा र स्थानीय तहको निर्वाचन भावी निर्वाचनका लागि मिनी जनमतसंग्रह हुनेछ। स्थानीय निर्वाचनको घोषणासँगै मोफसल वा जिल्ला विशेषतः भरतपुर महानगरपालिकाको निर्वाचनका बारेमा बढी चर्चा चासो र चिन्ता व्यक्त हुन थालेका छन्। यो स्वाभाविक पनि हो।
जसले सपना देख्छ, उसले योजना बनाउँछ, त्यो सपनालाई विपनामा कार्यान्वयन गर्ने पनि त्यही योजना बनाउने हुनुपर्छ। भरतपुर महानगरका हकमा रेणु दाहाल नेतृत्वमा समृद्ध भरतपुरका पूर्वाधार बनेका छन् भने ती पूर्वाधारमा समृद्धिको रथ दौडाउन त्यही व्यक्ति चाहिन्छ। सिंहदरबारका अधिकारहरूलाई स्थानीय तहमा लैजाने योजनालाई सार्थक रूप दिन जसले मेहनत गरेको छ, आगामी निर्वाचनमा उसलाई नै निर्वाचित गराउनुपर्ने हुन्छ। योजनालाई व्यवस्थित रूपमा कार्यान्वयनमा लैजान र जनताको घरदैलोमा सरकारको उपस्थिति लैजान पनि व्यावहारिक र परिपक्व नेतृत्व चाहिन्छ।
विकास प्रेमीहरूले एकपटक नेपालको मध्यभागमा अवस्थित भरतपुर महानगरको विकास र समृद्धिको यात्रालाई अध्ययन गरी आफ्नो स्थानीय तहमा आफ्नो अनुकूलतामा लागू गराउन सक्छन्। भरतपुर नगरवासीको आशा र भरोसाको केन्द्र बनाउँदै भरतपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको नमुना नगर बनाउन सकिने आधार तयार भएको छ। सुशासन र विकासमा उदाहरणीय स्थानीय तहको रूपमा भरतपुर महानगरले आफूलाई अग्रपंक्तिमा उभ्याएको छ।