साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ। नेप्से परिसूचक १००.६७ अंकले घटेर दुई हजार ७००.८९ बिन्दुमा ओरालो लागेको छ। सेन्सेटिभ इन्डेक्स १५.६२ अंक घटेको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको हो। आइतबार कारोबारमा आएका २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार सात सय ३१ रुपैयाँमा खरिद–बिक्री भएको छ।
आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा बढी ५.४७ प्रतिशतले गिरावट आएको छ। लगानी उपसमूहको परिसूचक ५.०३ प्रतिशत तथा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबारमा आएका दुई सय २७ कम्पनीमध्ये आइतबार दुई सय २१ कम्पनीको सेयरमूल्यमा उच्च अंकले गिरावट आएको छ। अपर तामाकोसीको सेयरमूल्य सबैभन्दा बढी ८.३७ प्रतिशत घटेको छ। नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२६ प्रतिशत तथा शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।