निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको लापरबाहीले पुल भाँचियो, मालवाहक ट्रकसहित अरुण नदीमा खसे पनि धन्न मानवीय क्षति भएन, जिमी र आमराङका बासिन्दा वारपार गर्न अब तीन–चार घन्टा हिँड्नुपर्ने
निर्माणाधीन इप्सुवा हाइड्रोपावरले पुल क्षमताको दोब्बरभन्दा बढी सामान ओसार्दा संखुवासभाको मकालु गाउँपालिका– १ जिमी गाउँ र वडा नम्बर ५ को आमराङ जोड्ने अरुण नदीको बेलिब्रिज पुल भाँचिएको छ । ३० टन भारवहन क्षमताको पुल हाइड्रोपावरले शनिबार एकैपटक ६९ टन सामान तार्दातार्दै भाँचिएको हो ।
‘पुलको क्षमता ३० टन मात्रै रहेछ, तर कुल ६९ टन क्षमताका तीनवटा मालवाहक ट्रक एकैपटक तर्दातर्दै दुर्घटना भएको देखियो,’ संखुवासभा प्रहरीका डिएसपी लालध्वज सुवेदीले भने, ‘ओभरलोडकै कारण दुर्घटना भएको देखिन्छ ।’
पुलसँगै तीन ट्रकमा रहेका तीन चालक र चार सहयोगी पनि खसेका थिए । तर, उनीहरू पुलमै अड्किएकाले सामान्य चोटपटक मात्रै लागेको छ । दुर्घटनामा पर्ने ट्रक र चालकहरूमा प्रदेश नं. २–०३–००१ ख ३१६५ नम्बरका चालक सुदीप चौधरी, प्रदेश नं. २–०३–००१ ख ३१९८ का चालक प्रमेख चौधरी र ना.२क २४४ का चालक हिकमत सुनुवार रहेको डिएसपी सुवेदीले बताए । दुर्घटना हुँदा पुलमा अन्य यात्रु भने थिएनन् ।
मकालु– १ का वडाध्यक्ष ओङदीछिरिङ शेर्पाका अनुसार एउटा ट्रकले रड र दुईवटाले ह्युमपाइप बोकेका थिए । पुल भाँचिएपछि आफूले हाइड्रो कम्पनीसँग कुरा गरेको र उसले अबको २० दिनभित्र पुनर्निर्माण गर्न सेनालाई जिम्मा दिएको बताएको शेर्पाको भनाइ छ । ‘पुल भाँचिएपछि कम्पनीसँग कुरा गर्दा २० दिनभित्र पुनर्निर्माण गर्न सेनालाई जिम्मा दिएको जवाफ आयो,’ वडाध्यक्ष शेर्पाले भने ।
पुल भाँचिएपछि जिमी र आमराङका बासिन्दा वारपार गर्न तीन–चार घन्टा हिँड्नुपर्छ । वडाध्यक्ष शेर्पाका अनुसार उक्त पुल इप्सुवा हाइड्रोपावर कम्पनीले नै निर्माण गरेको थियो । ५४ मिटर लामो पुल २४ फागुन ०७५ देखि सञ्चालनमा आएको थियो । करिब १२ अर्ब रुपैयाँ लागतमा इप्सुवा खोलाबाट ९७.२ किलोवाट विद्युत् उत्पादन गर्न केएचआरएल कम्पनीले निर्माणको काम गरिरहेको छ ।