साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा दोहोरो अंकको करेक्सन आएको छ । कारोबार अवधिभर बजारमा उच्च उत्तारचढाव देखिँदा लगानीकर्ता छोटो समयमै प्रोफिट बुकतर्फ लागेका देखिन्छन् भने बजार प्रवेश गर्न खोजेका लगानीकर्ता ‘पर्ख हेर’को अवस्थामा बस्दा बजार कारोबार अन्तिम समयमा दोहोरो अंकले घट्न पुगेको हो ।
सरकारले स्थानीय तहको चुनाव जेठमा गर्ने दलहरूबीच राजनीतिक सहमति गरेको भए पनि चुनाव हुने यकिन मिति तय नहुँदा लगानीकर्ता बजारप्रति विश्वस्त हुन नसकेको एक लगानीकर्ता बताउँछन् । कहिलेकाहीँ बजारमा माहोल सकारात्मकजस्तो बनिदिन्छ र बजार आक्रामक ढंगले बढ्न पुग्छ । आइतबारको बजार एक प्रकारको सकारात्मक मनोविज्ञानले पनि काम गरेको हुुँदा त्यस्तो बजार टिकाउँदैन र करेक्सन हुन पुग्ने ती लगानीकर्ताको भनाइ छ ।
त्यस्तै, अर्का लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल करेक्सन हुँदै बजार बढ्नु सकारात्मक भएको र चुनावी वर्ष सुरु भएकाले अब लगानीकर्ताको स्वर्णिम दिन आएको बताउँछन् । बैंकमा देखिएको ब्याजदर र तरलतालगायत समस्याको पनि समाधान हुँदै जाने र बजारले एकैपटक नभएर बिस्तारै नयाँ रेकर्ड राख्ने उनको भनाइ छ ।सोमबार नेप्से सूचक १३ दशमलव ४८ अंकले घटेर दुई हजार आठ सय ७२ दशमलव शून्य पाँच बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स भने सामान्य अंकले बढेको छ ।
कारोबारमा आएका १३ वटा समूहका सूूचकमा तीनवटा समूहका सूचक सामान्य बढेका छन् भने नौवटा समूहका सूचक घटेका छन् । ‘अन्य’ समूहको सूचक, माइक्रो फाइनान्स र लगानीगत समूहको सूचक भने बढेको छ । यस दिन एक सय ५६ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ भने ३२ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ । माउन्टेन हाइड्रो नेपाल लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रो लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य तीन प्रतिशतदेखि तीन दशमलव ४४ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले घटेको नेप्सेमा फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्था, विन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । छ्याङ्दी हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, जीवन विकास लघुवित्त वित्तीय संस्था, ५ प्रतिशतदेखि ९ प्रतिशतसम्मले बढेका छन् ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ स्क्रिप्टका एक करोड कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्थाको १७ करोड रुपैयाँदेखि ५७ करोड १२ लाखसम्मको सबैभन्दा धेरै कारोबार
भएको छ ।