‘व्यक्तिगत स्वार्थ र विकासका नाममा जथाभावी वनजंगल मास्दा जंगली जनावारले वासस्थान परिवर्तन गरेका रहेछन्। अचेल दिउँसो घाम लागेको वेलामा तीनवटा डमरु र एउटा बघिनी यहाँबाट सजिलै देखिन्छ,’ सामुदायिक वनतर्फ देखाउँदै पटीहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले भने। सामान्य मिहिनेतले नै सामुदायिक वनमा बाघको वासस्थान सुधार गर्न सकिएको भन्दै उनले खुसी व्यक्त गरे।
भरतपुर–१३ छितामाईको बेलसहर सामुदायिक वनको यस क्षेत्रमा २०१० को दशकतिर बेदघारी थियो। मानिसको संख्या बढ्दै गएपछि घाँस, दाउरा र चरन क्षेत्रका कारण वनजंगल मासिन थाल्यो। जंगल मासिएपछि बाघ पनि बसाइँ सरेको स्थानीयहरू बताउँछन्। तर, आफूहरूको सामान्य मिहिनेतले पहिलेझैँ बाघ देखिन थालेको समितिका अध्यक्ष महतोले बताए।
पछिल्लो तीन वर्षमा महतोलगायतले डेढ सय बढी वेदका बिरुवा किनेर रोपे। यो क्षेत्र पुरानै अवस्थामा फर्केसँगै बाघले पनि आफ्नो वासस्थानको रूपमा यसलाई रोजेको छ। ‘धेरैअघि देखि नै यो बाघको वासस्थान हो। तर, यहाँ हाम्रै कारणले यहाँ पिकनिक खाना आउने, घाँसदाउरा गर्ने मानिसको भिड बढ्यो। यसलाई पुरानै अवस्थामा फकाउनुपर्छ भनेर हामीले तीन वर्षदेखि योजना बनाएर वेद लगायौँ । अहिले झाडी बनेपछि मानिसहरू आउन सक्ने अवस्था भएन, बाघको पनि सुरक्षित वासस्थान बनेको छ,’ महतोले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार वेद भएको ठाउँलाई बाघले सुरक्षाका हिसाबले राम्रो मानिन्छ । उनका अनुसार बाघले बच्चा हुर्काउन र लुक्न वेदघारी नै बढी प्रयोग गर्छ। बेदले पर्यावरणसँगै स्थानीयको आर्थिक आयआर्जनको हिसाबले पनि टेवा पुग्ने उनी बताउँछन्। बेदको काठ फर्निचर निर्माणमा प्रयोग हुन्छ।
यस क्षेत्रको समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान समितिका संयोजक सुमन ढकाल स्थानीयको सक्रियताले नै बाघको वासस्थान निर्माण गर्न सकेको बताउँछन्। पटीहानी उपभोक्ता समितिअन्तर्गत बेलसहर र वीरेन्द्रनगर सामुदायिक वन उपभोक्ता समूह रहेको छ। समुदाय पर्यापर्यटनसँग सम्बन्धित गतिविधिमा आधारित भएको अवस्थामा सामुदायिक वनमा नै बाघको वासस्थान हुनु समुदायका लागि खुसीकाे कुरा भएको उनी बताउँछन्।
मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको ढकालले बताए। ढकालले भने, ‘एक महिनाअघि यसै ठाउँमा बाघले मानिसलाई आक्रमण गर्दा उनको निधन भयो। हामी सचेत हुँदै संरक्षणमा जोडिनु आवश्यक छ।’ त्यसका लागि सामुदायिक वनले समेत केही नियम बनाएको उनले बताए। यहाँका सामुदायिक वनहरूले पर्यटकलाई हात्ती र जिपबाट जंगल सयर गराएर आम्दानी गर्दै आएका छन्।
बाघको संख्या बढाउने प्रयास
सन् २०१८ को अध्ययन प्रतिवेदनअनुसार नेपालमा बाघको संख्या दुई सय ३५ रहेको छ। प्रतिवेदनअनुसार सबैभन्दा बढी ९३ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ। ८७ बर्दिया राष्ट्रिय निकुञ्ज, २१ बाँके राष्ट्रिय निकुञ्ज, १८ पर्सा राष्ट्रिय निकुञ्ज, १६ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छन्। तुलनात्म रूपमा बाघको संख्या चितवनमा बढी भए पनि सन् २०१४ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ थिए। पछिल्लो गणनामा ९३ वटा मात्र देखिए। यद्यपि, देशभरको आँकडाअनुसार भने बाघको संख्या ३६ ले बढेको छ ।
चितवनमा बाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जले गएको चार वर्षमा बाघका लागि आहारा र बस्ने ठाउँको व्यवस्थापनसँगै चोरी–सिकार नियन्त्रणमा विशेष ध्यान दिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चार वर्षको अवधिमा निकुञ्जमा बाघको आहारा प्रजाति चित्तल, जरायो र बँदेललगायतका जनावरका लागि घाँसे मैदान बनाइएको छ भने अवश्यकताअनुसार पोखरी निर्माण गरिएको छ।
वनक्षेत्र र आहारा प्रजातिको संख्या राम्रो भएको ठाउँमा बाघ बस्न रुचाउने उनी बताउँछन्। यस्तै, मानवीय सुरक्षाका लागि निकुञ्जआसपासका बस्तीमा वन्यजन्तुले क्षति नगरोस् भन्ने हेतुले तारजाली र पर्खाल लगाइएको तिवारीले जानकारी दिए ।