मूल्य निर्धारण नहुँदै रौतहटमा उखु क्रसिङ सुरु

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

सरकारले निर्धारण गरेकै दररेट दिने भनेपछि रौतहटको कटहरियामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल उद्योगले उखु क्रसिङ सुरु गरेको छ । सरकारले समयमै उखुको मूल्य निर्धारण नगरेका कारण उखु खेतमै सुक्ने अवस्था आएपछि किसान मूल्य निर्धारण नहुँदै मिललाई उखु बेच्न बाध्य भएका हुन् ।
 
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स बन्द भएसँगै कटहरिया नगरपालिकाको डुमरियामा बाबा बैजनाथ सुगर एन्ड केमिकल सञ्चालनमा आएको हो । श्रीराम सुगर मिल्सले किसानको बाँकी रकम नतिरेपछि किसानले पहिलेको तुलनामा उखु लगाउन छोडेका हुन् । सरकारले उखुको मूल्य निर्धारण नगरेका कारण उखु खेतमै सुक्ने डरले आफूले उखु काट्न सुरु गरेको डुमरियाका किसान अनिसु रहमानले बताए । बाबा बैजानाथ सुगर मिल्सले सरकारले तोकेकै मूल्य दिने बाचा गरेपछि आफूहरूले उखु काट्न सुरु गरेको कटहरियाका किसान राजनाथ साहले बताए ।

बाबा बैजानाथ सुगर मिल्सका अध्यक्ष बैजुप्रसाद बाब्रले आफूले सरकारले तोकेको मूल्य किसानलाई दिने जानकारी दिए । आफूहरूलाई सस्तोमा उखु बिक्री गर्न बाध्य पार्ने गरी सरकारले अन्तिम घडीमा मात्रै मूल्य तोक्न लागेको भन्दै किसान रुष्ट छन् । जुनसुकै सिजनमा पनि समयमै सरकारले मूल्य तय नगर्दा मुख्य मार किसानलाई पर्ने गरेको महम्मदपुरका किसान हरदेव सहनीले बताए । सरकार, उद्योगी र किसानबीच उखुको मूल्य तय गर्न पटक-पटक बैठक बसे पनि अझै निष्कर्ष निस्किएको छैन । गत आर्थिक वर्ष ०७७/७८ मा सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम मूल्य पाँच सय ४४ रुपैयाँ ३३ पैसा तोकेको   थियो ।

यो वर्ष ६ सय ५० रुपैयाँभन्दा बढी हुनुपर्ने माग किसानको छ । उखु उत्पादक संघ रौतहटका सचिव सत्येन्द्र यादवले सरकारले चाँडै उखुको मूल्य तय गर्नुपर्ने बताए । ‘अन्योल र चिन्ताबीच किसानले उखु मिल र खाडसरीलाई दिन थालिसके,’ उनले भने, ‘धेरैजसो किसान अहिले पनि मूल्य तय होला र उखु काटौँला भन्ने आशमा छन् ।’


मूल्य पनि कम पर्ने र बेचेपछि उद्योगबाट बेलैमा रकम नपाइने समस्याका कारण जिल्लामा पछिल्लो वर्षहरूमा उखु उत्पादनसमेत घट्दै गएको देखिन्छ । एक सिजनमा २५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने रौतहटमा यो वर्ष मुस्किलले १० लाख क्विन्टलसम्म उत्पादन हुने आकलन यादवको छ । गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल बन्द भएपछि पनि उखु उत्पादन घटेको हो । बर्सेनि नोक्सान बढेको भन्दै गोल्छा समूहको स्वामित्वमा रहेको श्रीराम उद्योग गत वर्षदेखि सञ्चालनमा छैन ।

सुझावित समाचार