नेप्से लयमा फर्किएको लक्षण : फाइनान्स र माइक्रो फाइनान्समा लगानी बढाउँदै लगानीकर्ता

मंगलबार, २० पुष, २०७८
डिजिटल संस्करण

करिब तीन हजार दुई सयमाथिबाट झन्डै एक हजार अंकले घटेको नेप्से सूचक बिस्तारै लयमा फर्किने प्रयासमा देखिएको छ । दुई हजार दुई सयमाथिबाट उकालो लागेको नेप्से सूचक यस साताको सोमबार सम्ममा दुई हजार ६ सय १६ दशमलव ९४ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्से ३२ दशमलव ०३ अंकले बढेको हो । आइतबारसम्म बजारले दुई हजार पाँच सयमाथिको टेवा पाएर दुई हजार ६ सयको बिन्दुमा प्रवेश गरेको हो । 

यस बिन्दुसम्म आइपुग्ने क्रममा बजारले बीचमा निकै उतारचढाव व्यहोर्दा लगानीकर्ता प्यानिक बने भने बढेको बजारमा नाफा बुक गर्ने प्रतिस्पर्धामा राजनीतिक दलहरूले दिएको अभिव्यक्तिले बजारलाई  करेक्सन हुन थप बल पुग्यो । अहिले सेयर कारोबार रकम पनि बिस्तारै सकारात्मक बन्न पुगेको छ । बजारले करेक्सन पार गरेको अवस्था छ । साधारणसभा गर्ने कम्पनीहरूले अन्तिम चरणमा पुर्याएका छन् । राजनीतिक वृत्तबाट पनि पुँजी बजारसम्बन्धी सकारात्मक कुराहरू बाहिरिएका छन् । बैंकमा ब्याजदरको अवस्था पनि बिस्तारै सहज हुने बताइएको छ । सबै हिसाबले बजार पुनः लयमा फर्किने प्रयासमा देखिएको लगानीकर्ता बताउँछन् ।

‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ८६ अंकले बढेर चार सय ८७ दशमलव ८७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ मध्ये १२ वटा समूहका सूचक सकारात्मक बनेका छन् भने माइक्रो फाइनान्स र फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । वाणिज्य बैंक, विकास बैंक र जलविद्युत् समूहका सकारात्मक बनेका छन् ।

यस दिन एक सय ४९ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने ४१ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ । रुरु जलविद्युत् परियोजना, नेपाल बंगलादेश बैंक, कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंकका सेयर मूल्य २ प्रतिशत बढीले घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ, फस्ट माइक्रो फाइनान्सको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

यस दिन ८२ लाखभन्दा बढी कित्ता–इकाइको सेयर खरिद–बिक्री हुँदा चार अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ  सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाखको भएको छ भने अपि पावर, शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल बंगलादेश बैंकको सेयर मूल्य १८ करोडदेखि १२ करोड रुपैयाँसम्म कारोबार भएको छ ।
 

See More On

सुझावित समाचार