शुक्रबार बिहान १० बजेदेखि काठमाडौं उपत्यका तथा देशभरको मौसममा सुधार देखिएको छ। काठमाडौं उपत्यकामा अहिले घाम लागिरहेको छ। बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरो हटेसँगै उपत्यकामा न्यानो महसुस गर्न थालिएको छ। उपत्यकाबाहिरका पहाडी भूभागमा पनि घाम लाग्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् समीर श्रेष्ठले आज बिहानदेखि मौसममा सुधार आएको बताए। उनले बिहानीपख हुस्सु र कुहिरो लागे पनि दिउँसो घाम लाग्ने र तामक्रम बढ्दै जाने जानकारी दिए। हाल काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ। घाम लागेसँग तामक्रम बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च पहाडी भेगमा हिमपात परेकाले केही दिन थप चिसो बढ्ने बताइएको छ। तराईका जिल्लामा भने बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जारी गरेको नियमित मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। बुलेटिनअनुसार गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागहरूमा अझै केही दिन हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम अपडेट
पुस १६ गते शुक्रबार
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुस १७ गते शनिबार
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।
पुस १८ गते आइतबार
दिउँसो : देशभर आंशिक बदली रहनेछ
राति : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।